खेलकुद

यु–१९ एसिया कप : नेपाल श्रीलंकासँग पराजित

काठमाडौं, भदौ २०–श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले खराब शुरुवात गरेको छ । पहिलो खेलमै आयोजक श्रीलंकासँग भिडेको नेपाल ५ विकेटले पराजित भएको हो । कोलम्बोमा भएको खेल वर्षाले प्रभावित भएपछि नेपाल डीएलएस मेथडका आधारमा ५ विकेटले पराजित भएको हो । वर्षाका कारण छोट्याएर ४२ ओभरमा झारिएको खेलमा नेपालले १६० रनको सामान्य लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा आएको श्रीलंकाले ३३.४ ओभरमा ५ विकेट गुमाएर सो लक्ष्य पूरा गरेको थियो । नवौं ओभरमा पानी परेपछि रोकिएको खेल ४२ ओभरमा झारिएको थियो । श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रन जोड्दै अर्धशतकीय इनिङ खेलेका थिए । अहान विक्रमसिंगेले ३० रन बनाउँदा अभिस्का थारिन्दु २५ रन बनाएर नटआउट रहे । यस्तै, कप्तान निपुन धनञ्जयले १८ रन तथा रसान्था डी सिल्भाले १५ रन जोडे ।

नेपालका रशिद खानले २ विकेट लिए भने सागर ढकाल, पवन सर्राफ र कमलसिंह ऐरीले समान एक–एक विकेट लिए । टस जितेर ब्याटिङ रोजेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १५९ रन जोडेको थियो । नेपाललाई सम्मानजनक योगफलसम्म डोर्याउन रीत गौतमले अर्धशतकीय योगदान गरे । उनले ८६ बल खेल्दै ५४ रन बनाए ।

४७ रनको योगदान गरेका कप्तान रोहित पौडेल भने अर्धशतक बनाउनबाट केबल ३ रनले चुके । यस्तै, रशिद खानले १५ रन तथा हरिबहादुर चौहानले १२ रन बनाए । नेपाललाई सस्तैमा समेट्न श्रीलंकाका दिल्सान मधुशन्का र नाभोद दिनुसरीले समान ३–३ विकेट लिए ।

नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेल मंगलबार युएईसँग खेल्नेछ । समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Featured