देश

नेताको सम्पत्ति छानबिन गर्न राप्रपा संयुक्तको माग

काठमाडौं, भदौ २०–राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले राजनीतिक दलका नेताहरुले राजनीतिलाई व्यवसाय बनाएको भन्दै सबै नेताको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । उक्त पार्टीको भक्तपुरमा दुई दिनसम्म चलेको केन्द्रीय कार्य समितिको पहिलो बैठकको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी नेता बनेर सरकारमा पुग्ने र अकुत सम्पत्ति आर्जन गर्ने प्रवृत्ति बढेकोले सम्पत्ति छानबिन गर्न आव्हान गरे ।

अध्यक्ष डा. लोहनीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको मूल एजेण्डामा पार्टी स्पष्ट रहेको भन्दै संघीयतालाई पार्टीले स्वीकार गरेको बताए । उनले राप्रपा संयुक्त बेलायत र जापानमा भएजस्तै संवैधानिक राजतन्त्रको एजेण्डामा दृढ रहेको बताए । अर्का अध्यक्ष राणाले मुलुकमा गणतन्त्र आएपछि राष्ट्रपति भएकाहरुले दलको एजेण्डामा काम गरेको र सुख सयल तथा विलासी सुविधा मात्र बढी खोजेकाले संवैधानिक राजतन्त्रको पक्षमा आफूहरु लागेको बताए । ‘अहिलेकी राष्ट्रपतिलाई मेरो जिजुबुबाले छोडेको शीतल निवास दिएर पुगेन र पुलिस एकेडीमी पनि चाहियो रे’, राणाले भने, ‘निष्पक्ष भूमिका खेल्न नसक्ने र विलासी राष्ट्रपतिको पक्षमा हामी छैनौं ।’

दुवै अध्यक्षहरुले ८१ प्रतिशत बढी हिन्दु भएको देश नेपालमा हिन्दु राष्ट्रको विकल्प नभएको भन्दै केही नेताको स्वार्थ मिलेको आधारमा जनआन्दोलनमा नउठेको विषयमा प्रवेश गरी धर्म्निरपेक्ष राष्ट्र घोषणा गरेको भनी असन्तुष्टी जनाए ।

राप्रपा संयुक्तको बैठकले बैद्धिक हिन्दु संस्कृतिको संरक्षण अभियान संचालन गर्न सीताको जन्मस्थल जनकपुरबाट शुरु गरेर सीताको समाधीस्थल त्रिवेणीधाम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्म पाँच दिनेयात्रा संचालन गर्ने निर्णय गरेका छन् ।

Featured