देश

नेतृत्वले नै अन्य नेतालाई विभेद गरेर बृहत् एकता सम्भव छैन : सिटौला

काठमाडौं, भदौ २०–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी्भित्रको बृहत् एकताका लागि आग्रह गरेर मात्र सम्भव नहुने भन्दै व्यवहारबाटै प्रस्तुत गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । उनले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबारदेखि शुरू गरेको ३ नम्बर प्रदेशका ७ जिल्लाका महाधिवेशन प्रतिनिधिका लागि आयोजित प्रशिक्षण कार्यक्रममा त्यस्तो आग्रह गरेका हुन् ।

नेता सिटौलाले नेतृत्वले नै अन्य नेतालाई विभेद गरेर बृहत् एकता सम्भव नभएको बताए । ‘हामी कोही मालिक र कोही कामदार होइनौं । सबै समान छौं । अब पार्टीमा बृहत् एकता बोलीमा होइन, नीति, रणनीति, कार्यक्रम, व्यवहार, विचार, नेतृत्व, जिम्मेवारी बाँडफाँट, सिद्धान्त, दृष्टिकोण, काम गर्ने शैली र पार्टी्भित्रको सन्तुलनका आधारमा हुनुपर्छ’, उनले भने ।

उनले पार्टीमा एकता हुनका लागि ‘म भन्छु, तिमी मान । म बोल्छु, तिमी सुन । म खाइरहन्छु , तिमी हेर है । म हिँडिरहन्छु, तिमी बस है । म महलमा बस्छु, तिमी झुपडीमा नाङ्गै बस है’ भनेर पार्टी भित्र एकता नहुने स्पस्ट पारे ।

सभापति शेरबहादुर देउवा र संस्थापन पक्षबाट पार्टी्भित्र बृहत् एकताका लागि आव्हान भइरहेको सन्दर्भमा असन्तुष्ट नेता सिटौलाले एकता बन्न नेताबीच समानता हुनुपर्नेमा जोड दिए । नेता सिटौलाले समाजबादी विचार बोकेको पार्टी कांग्रेसमा कोही मालिक र कोही कामदार नभएको बताउँदै कांग्रेसको नेतृत्वमा धेरै परिवर्तन भए पनि कांग्रेसभित्रै भने परिवर्तन हुन नसकेको गुनासो गरे ।

निर्वाचन आयोग, लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा सरकारले हस्तक्षेप गरेको भन्दै उनले संवैधानिक परिषद्को सदस्यको हैसियतमा प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा समेत बैठक बसेर निर्णयहरू भइरहनु संविधान विपरीत रहेको बताए ।

‘कर्मचारीतन्त्रमाथि अंकुस लगाउने काममा सरकार लागेको छ । सरकार गलत र संविधान विपरीत वाटोमा हिँडेको छ,’ उनले भने । उनले विगतमा कांग्रेसले राम्रा काम पनि गरेको भन्दै निर्वाचनमा जेजति गल्ती गरिएको छ, त्यसमा सच्याउने प्रतिवद्धता आउनुपर्ने माग गरे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले बालुवाटारमा प्रतिगामी शक्तिहरू एकजुट भए र षडयन्त्र भयो भनेर सर्वदलीय बैठक गरेबाट सरकार असफल भइसकेको देखिएको बताए ।

उनले कम्युनिष्टहरू देशको शासन गर्न नालायक छन् भन्ने पुष्टि भएको दाबी गर्दै सरकारमा बस्नेहरूले नै भ्रष्टाचारलाई संस्थागत गराइरहेको दाबी गरे । ‘सरकारले अख्तियार र न्यायालयलाई तर्साएर र धम्क्याएर भ्रष्टाचारलाई संस्थागत गरिरहेको छ’, पौडेलले भने ।

उनले जनता र पार्टी जहाँ जाओस्, मैले अवसर पाए पुग्यो भन्ने बाटोमा जानु नहुने भन्दै प्रश्न गरे, ‘हामी आज पनि यो गुट र त्यो गुट भन्दै आँखा चिम्लिएर हिँड्ने कि आँखा खोलेर हेर्ने ? आज कांग्रेसका नेता र कार्यकर्ताले समाजवादी चरित्र अंगिकार गर्ने कि नगर्ने ?’

उपसभापति विमलेन्द्र निधिले पार्टी नेताले एकअर्कालाई दोष दिने कार्यशैलीबाट मुक्त हुनुपर्ने भन्दै त्यसका लागि हामीभित्रै जागरण हुनुपर्ने बताए । उनले निर्वाचनमा पराजित भएपछि त्यो निराशामै बस्न नहुने जनाए । महामन्त्री डा. शशांक कोइरालाले मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको भन्दै आगामी निर्वाचनमा भक्तपुरबाट कांग्रेसका उम्मेदवारलाई जसरी पनि जिताउनुपर्ने बताए ।

Featured