देश

खटाएको ठाउँमा नजाने कर्मचारीलाई देखिनसक्ने मन्त्री पण्डितको उद्घोष

विराटनगर, भदौ २०–संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारलाई बाधा पुर्याएर जनताको कामका लागी खटाएको ठाउँमा जान नमान्ने कर्मचारीलाई सरकारले देखि नसक्ने बताएका छन् । मोरङको रंगेलीमा शुक्रबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रंगेली नगर कमिठीको सपथ ग्रहण समारोहलार्ई सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो बताएका हुन् । उनले भने,‘ठग्ने र लुट्ने चाहाना राखेर कसैको पुच्छर समातेर सरकारलाई टेर्दिन, जादिन भनेर कही कर्मचारीहरुले अटेर गरेको सुनेको छु । काम गर्न नखोज्नेहरु चाहे रिसाएर होस वा खुसाएर, जनताको करको पैसा खाएपछी जनताको काम गर्नु जानु पर्छ । यदि जाँदैनन् भने सकारले सहेर बस्दैन ।’

मन्त्री पण्तिले आफुले नयाँ कर्मचारी भर्ना गर्न खोज्दा बेकारमा विरोध गरिएको बताए । उनले आफुखुशि काम गर्न खो्रज्ने कर्मचारीहरु देशलाई टाट पल्टाउन उद्धत रहेको बताउँदै सरकारले त्यस्तो हुन नदिने बताए । उनले भने,‘ देशलाई टाट पल्टाएर आफु पोखरीको बुहारी माछा जस्तो गरी मोटाएर सात वर्षको एकमुष्ठ तलब लिएर जान खोजिएको छ । देशलाई लुट्न खोजिएको छ, कम्युनिष्टको सरकारले यसो हुन दिँदैन । ढुक्क हुनुस् ।’

मन्त्री पण्डितले सरकारले राम्रा काम गर्न खोजेपनि विकास विरोधीहरुले सरकारनै ढाल्ने षड्यन्त्र गरिरहेको बताए । ‘सरकारले राम्रो गर्छ खोज्छ । कानुन बनाउन खोज्छ । डाक्टरहरु आन्दोलन गर्छन्, गुठि विधेयकको विरोध गर्छन् । जे गर्न खोज्यो असफल तुल्याउन खोज्छन् । सरकारनै ढालौँला गरेर चिच्याउँछन् । अब कुनै पनि महानामा मुलुकको समृद्धि रोकिँदैन, यहि कम्युनिष्टको सरकारले मुलुकमा आमुल परिवर्तन ल्याएर देखाउँछ । तपाईँहरु ढुक्क हुनुस् ।

उनले सुर्खेतमा गाई मारिएको घटनालाई गम्भिर षड्यन्त्रका रुपमा लिइनुपर्ने बताए । उनले भने,‘गाई मार्ने काम गरेर मरि सकेको राजतन्त्रको अस्तुलाई छुडा जस्तो खेलाएर राजतन्त्र फर्काउने सपना नदेखे हुन्छ । राजतन्त्र फर्किँदैन । गणतन्त्र समाप्त हुँदैन । यो सरकारले त्यसो हुन दिँदैन ।’

मन्त्री पण्डितले गाई हत्या गर्नेलाई मान्छे मारे शरह कानुन बमोजिम कारवाही हुने बताउँदै समे घटनाको छानविन भईरहेको जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका मन्त्री पण्डितले राजनीतिक आन्दोलन अब देशमा समाप्त भइसकेकाले विकास र समृद्धिको दिशामा अघि बढ्नका लागि अब उत्पदनशिल क्षेत्रमा लाग्न आम कार्यकर्ताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घनेन्द्र बस्नेत, केन्द्रीय सदस्य गोपी अछामी, विनोद ढकाल, महेश रेग्मी, शिवकुमार मण्डल लगायतका नेताले पार्टीबाट स्थानीय तहको प्रतिनिधित्व गर्ने सवै जनप्रतिनिधिहरुले पार्टीले बनाउन लागेको कार्यविधि अनुसार काम गर्न निर्देशन दिए ।

नेताहरुले विगतमा दुई पार्टी अलग अलग रहँदाका तित्तता, मनमुटाव, रिस राग पार्टी एकतापछि समाप्त भएकाले अब नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरुले नेकपा नेतृत्वको सरकारले देशलाई विद्युत र औद्योगीक उत्पादनमा आत्मनिर्भर बनाउँदै लगेको बताए ।
उनीहरुले मुलुकलाई समृद्ध बनाउन पनि जहाज र पूर्व पश्चिम रेल सञ्चालनका लागि डिपिआर तयार गरिएको बताउँदै अब चाँडै काम अघि बढ्ने दाबी गरे । नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार मुलुक समृद्ध बनाउन दृढ रहेको बताउँदै यसबाट प्रतिपक्षिहरु आत्तिएको दाबी गरे । उनीहरुले आफ्नो पार्टीको सरकारले नै गलत काम गर्ने कसैलाई पनि नछाडेको दावी गरे ।

मन्त्री पण्डितले नेकपा रंगेली नगरकमिटिलाई गराए सपथ
कार्यक्रममा ८१ सदस्यीय नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री तथ नेकपा नेता लालबाबु पण्डितले पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

उनीहरुलाई केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घनेन्द्र बस्नेत, केन्द्रीय सदस्य गोपी अछामी, विनोद ढकाल, महेश रेग्मी, शिवकुमार मण्डल, रंगेली नगरपालिकाक मेयर दिलिप बगडिया, प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरी, भोगेन्द्र यादव, विद्यार्थी नेता वसिम आलम, नेकपा मोरङका नेता बाबुराम कार्की, सन्तोष साह, मनोज अग्रवाल लगायतले कुशलता पुर्वक जिम्मेवारी वहन गर्न शुभकामना दिए । कार्यक्रममा सयौँ स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नेकपा रंगेली नगर कार्यालय उद्घाटन
शुक्रबारनै नेकपा रंगेली नगर कार्यालयको समेत उद्घाछन गरिएको छ । विराटनगर बसपार्क नजिकै सञ्चालनमा ल्याइएको पार्टी कार्यालय मन्त्री पण्डितले रिवन काटेर उद्घाटन गरे । सो अबसरमा बोल्दै उनले सञ्चालनमा ल्याइएको पार्टी कार्यलय मार्फत जनताको सेवा गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘यो पार्टी कार्यालय केवल झण्डा राख्ने मात्र ठाउँ होइन ।

यस मार्फत् जनतालाई सर्भिस दिनुपर्नेछ । यो काम तपाईहरुले गर्नुभएन भने तपाईँहरु अयोग्य सावित हुनुहुनेछ । त्यसैले यो अवस्था सृजना हुन दिनुहुनेछैन भन्नेमा पार्टी विश्वस्त छ । घरबाटै पार्टी चलाएको सुन्न नपरोस ।’

सो अवसरमा प्रतिनिधिसभा सदस्य, पूर्व मन्त्री तथा पार्टी केन्द्रीय सदस्य शिवकुमार मण्डल, केन्द्रीय सदस्य महेश रेग्मी, रंगेली नगरपालिकानका मेयर दिलिप बगडिया, नेकपा प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरी, विद्यार्थी नेता वसिम आलम, नेकपा मोरङका नेता बाबुराम कार्की, सन्तोष साह, मनोज अग्रवाल लगायत स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Featured