देश

किस्ता र ब्याज तिर्न नसक्दा घरमा ताला

जनकपुर, भदौ २०–जनकपुरमा लघुवित्त संस्थाबाट संचालित समूहमार्फत लिएको ऋणको किस्ता तिर्न नसक्दा एक परिवारको बिचल्ली भएको छ । जनकपुरस्थित छिमेक लघुवित्त संस्थाको समूहबाट ऋण लिएका रजौल बस्ने बजरंगी पासवान परिवारको विचल्ली भएको हो । उनले महिनैपिच्छे तिर्नुपर्ने किस्ता र ब्याज दुई महिनादेखि समूहमा बुझाउन सकेका थिएनन् । यही वहानामा लघुवित्तका कर्मचारी र आफ्नै समूहका सदस्यहरुले उनको घरमा ताला लगाएका हुन् ।

लघुवित्तले समूहगत रूपमा बचत गराउँदै समूहमै ऋण पनि प्रवाह गर्दै आएको छ । आफनै समूहका सदस्य र कर्मचारीले घरमा ताला लगाएपछि पासवान परिवार जानकी जानकी मन्दिरमा शरण लिएर बसेको छ । ‘घर हुँदाहुँदै घरवारविहीन भएर मन्दिरमा आश्रय लिनुर्पयो,’ पीडित ज्ञानुदेवी पासवानले भनिन् ।

रजौलको छिमेक लघुवित्त संस्थाका शाखा प्रमुख सुजित झाले लघुवित्तले पासवानको घरमा ताला नलगाएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले समूहमार्फत बचत र लगानी गराउँदै आएका छौं, लगातार दुई महिनासम्म किस्ता नतिरेपछि समूहका सदस्यहरूले पासवानको घरमा ताला लगाइदिएका हुन् ।’

Featured