देश

ताइवानको युयानपेइ युनिभर्सिटीबाट सुस्वास्थ्य हस्पिटलमा इन्टर्न्सिप

काठमाडौं , भदौ २०–ताइवानको युयानपेइ युनिभर्सिटी अफ मेडिकल टेक्नोलोजीका चार जना विद्यार्थीले काठमाडौंको सुस्वास्थ्य हस्पिटलमा एक महिनाको इन्टर्न्सिप गरेका छन् । युयानपेइ युनिभर्सिटीमा ब्याचलर अफ नर्सिङ र ब्याचलर अफ हेल्थकेयर म्यानेजमेन्ट पढिरहेका विद्यार्थील अगस्ट ६ देखि सेप्टेम्बर ५ सम्म सुस्वास्थ्यमा इन्टर्न गरेका हुन् ।

ताइवानी विद्यार्थीले युनिभर्सिटी अफ फरेन इन्टर्न्सिप प्रोग्रामअन्तर्गत नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रमा इन्टर्न्सिप गरेको अस्पतालका अध्यक्ष अकु. सुदर्शन बस्नेतले जानकारी दिए । युयानपेइ युनिभर्सिटीका विद्यार्थी विगतमा यस खालको इन्टर्न्सिपका लागि अमेरिका, क्यानडा, जापान, थाइल्यान्ड र मलेसियाका अस्पतालमा जाने गरेका थिए । ‘पहिलो पटक नेपालमा सुस्वास्थ्य हस्पिटलसँग इन्टर्न्सिपका लागि सम्झौता भएको हो,’ अध्यक्ष बस्नेतले भने, ‘विद्यार्थीले फिजियोथेरापी, अकुपंचर, नेचुरोथेरापी ट्रिटमेन्ट सिकेका छन् ।’

युयानपेइ युनिभर्सिटीले अर्को वर्षका लागि पनि ६ जना विद्यार्थीको इन्टर्न्सिपको आग्रह गरेकोमा अस्पतालले स्वीकृति प्रदान गरेको उनले जानकारी दिए । प्राकृतिक चिकित्सामा सुस्वास्थ्य हस्पिटल नेपालकै अग्रणी अस्पताल हो ।

Featured