देश

पानी नपर्दा धानखेत चिरा चिरा, सुक्न थाल्यो लहलाउँदो धान

जनकपुर, भदौ २०–लामो समयदेखि तराई मधेस क्षेत्रमा वर्षा नहुँदा लहलहाउँदो धान सुक्न थालेको छ । वर्षातका बेला बाढी पसेको मौकामा रोपाइँ गरेका कृषक लामो समय पानी नपरेर धान सुक्न थालेपछि चिन्तित बनेका छन् । बाढीको बेला खेतमा लगाएको धानखेत अहिले पानी नपर्दा चिरा चिरा परेको कृषकले बताएका छन् । धनुषाको धनौजी गाउँपालिका बहुअर्वाका किसान रिंकु कुमारीले पानी नपर्दा एक बिघामा लगाएको धान सुक्न थालेको बताइन् ।

‘लामो समयदेखि पानी नपर्दा मोटरबाट पानी लगाउने गरेका छौं,’ उनले भनिन्, ‘सिँचाइको व्यवस्था नहुँदा कल (ट्युब वेल) बाट खेतमा पानी लगाउँदै आएका छौं तर त्यसले केही धान्दैन ।’ मिथिलाविहारी नगरपालिकाका युवा नेता सरोज यादवले लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएको धान सुक्न थालेको बताए । ‘सिँचाइ सुविधा छैन, अहिले धानमा पर्याप्त पानी जम्नुपर्ने बेला हो,’ उनले भने ।

सरकारले तराई मधेस क्षेत्रमा सिँचाइ सुविधाको लागि तत्कालीन र दीर्घकालीन योजना नबनाउने हो भने भविष्यमा झन् ठूलो समस्या आउन सक्ने उनको भनाइ छ । ‘तराई मुख्य गरी धानबाली र तरकारीका लागि उपयुक्त भूमि भएकाले केन्द्र, प्रदेश र स्थानीय तीन वटै सरकार मिलेर दीर्घकालीन योजना बनाउनुपर्छ,’ यादव भन्छन्, ‘तराईले पूरै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्छ ।’

लक्ष्मीनियाँ गाउँपालिकाका वडाध्यक्ष एवं कृषक उमेश यादवले समयमा पानी नपरेर किसानले खेतमा लगाएको धानबाली सखाप हुने अवस्थामा पुगेको बताए । ‘पम्पसेटबाट जसोतसो खेतमा पानी लगाउँदै आएको छु,’ उनले भने, ‘पम्पसेटबाट लगाएको पानी खेतमा लामो समयसम्म टिक्न सकेको छैन ।’ पानी अभावले गर्दा धान उत्पादनमा कमी आउने अनुमान कृषकले गरेका छन् ।

लामो समयदेखि पानी नपरेर धानखेत चिरा चिरा पर्न थालेपछि जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले सिँचाइको सुविधाका लागि पहल थालेका छन् । जनकपुरधाम उपमहानगरपालिका २१ लोहनामा सिँचाइका लागि वर्षौं पहिले गाडिएका १२ इन्चका दुई वटा डिप वोरिङबाट लोहना र देवडिहामा तत्काली सिँचाइ सुविधा र्पुयाउन लागिएको हो । उपमहानगरपालिकाले किसानको खेतमा डिप बोरिङको पानी र्पुयाउन ५ लाख रकम पेस्की निकालेर डिप बोरिङ मर्मत सुधार र कुलो निर्माणको काम सुरु गरिसकेको लोहनाका वडाध्यक्ष यादवले जानकारी दिएका छन् ।

Featured