देश

पोखरा महानगर र कोरियाको ग्यांवोन प्रान्तबीच साझेदारी सम्झौता

पोखरा, भदौ २०–पोखरा महानगरपालिका र दक्षिण कोरियाको ग्यांवोन प्रान्तको हरित टेक्नोलोजी केन्द्रबीच पोखरामा हरित गृह सम्बन्धि परियोजना सञ्चालन गर्न सम्झौता भएको छ । दक्षिण कोरियामा आयोजित विश्व कार्बन फोरम–२०१९ का अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र ग्यांवोन प्रान्तका तर्फबाट गभर्नर मुन सुन चोइ तथा हरित टेक्नोलोजी केन्द्रको तर्फबाट प्रमुख कार्यकारी निर्देशक क्युंग्ग नाम सिनले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा पोखरा क्षेत्रमा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिइएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका स्विकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए । समझदारी पत्रमा पोखरालाई स्मार्ट वातावरणमैत्री पर्यटन, स्मार्ट सहरका प्रविधिको प्रयोग, इ मोबिलिटी, वैज्ञानिक खोज, अध्ययन अनुसन्धान तथा पोखराको संस्थागत विकासका लागि कार्य गर्ने उल्लेख छ ।

हरित टेक्नोलोजी केन्द्रले यसअघि भुटान ,युगान्डा लगायतका देशमा गरेका परियोजनाहरु सफल छन् । सम्झौतापछि तीन वटै पक्षबीच विश्वमा बढिरहेको कार्बन उत्पादन र हरित गृह ग्यासको प्रभाव कम गराउन परियोजना अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

त्रिपक्षीय सम्झौता पछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपालमा लगानी मैत्री वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले नेपाल हरित गृह ग्यासको उत्पादन कम गर्न प्रतिबद्ध रहेको बताए । यस परियोजना सफल भएपछि पोखराको यातायात गुरु योजना तयार भई कार्यान्वयनको चरणमा प्रबेश गर्ने छ ।

Featured