देश

एनसेल कर प्रकरण : सर्वोच्चको फैसलाबारे संसदीय समितिमा छलफल गर्न माग

काठमाडौं, भदौ २०–दूरसञ्चार सेवाप्रदायक एनसेलले तिर्नुपर्ने भनिएको करबारे संसदीय समितिमा छलफल गर्न सांसदहरुले माग राखेका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा एनसेल करबारे विशेष छलफल गर्न उनीहरुले माग गरेका हुन् ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकमा समिति सदस्यहरुले एनसेल कर आम चासोको विषयमा भएको र सर्वोच्च अदालतले ठूला करदाता कार्यालयको निर्णय उल्टाएको भन्दै यसबारे छलफल गर्नुपर्ने सांसदहरुको तर्क छ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले समितिका सभापति कृष्णभक्त पोख्रेललाई एनसेल करबारे छलफल गर्न ध्यानाकर्षण गराए । कांग्रेसकै सांसद मीन विश्वकर्माले एनसेल करको विषय समितिमा छलफल गर्नैपर्ने विषय भएको बताए । सर्वोच्चको निर्णयबारे पूर्वन्यायाधीशहरुले पनि बोलिसकेकाले यो विषयमा छलफल गर्न सकिने उनको भनाइ थियो ।

सांसदहरुले ध्यानाकर्षण गराएपछि समिति सभापति पोख्रेलले यसबारे पूर्वन्यायाधीशसहितको विशेषज्ञ टोलीसँग छलफल गर्ने बताए । त्यसपछि समितिमा के–कसरी छलफल गर्ने भन्नेबारे टुंगो लगाउन सकिने उनले बताए । ‘यो मुद्दा सर्वोच्चले हेरिरहेको छ,’ उनले भने, ‘हाम्रो क्षेत्राधिकार कति हो र कसरी छलफल गर्न सकिन्छ यसबारे विशेषज्ञ टोली बनाएर छलफल अगाडि बढाउँदा राम्रो होला ।’

Featured