खेलकुद विदेश

एसीसी यू-१९ एसिया कप: पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले पराजित

काठमाडौं, भदौ २०-एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली श्रीलंकासँग नेपालले पाँच विकेटको हार ब्योहोर्यो।

नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको इनिङ् खेले। उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए। यस्तै अहान विक्रमासिंघेले पनि ३० रन जोडे। निपुन धनञ्जयाले १८ रन बनाए भने अभिष्का थारिन्दुले अविजित २५ रन जोडे।

बलिङतर्फ नेपालका राशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए।

श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतकीय योगदान दिएका थिए। उनले ५४ रन बनाएका थिए। त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए। राशिद खानले १५ रन बनाए भने हरि चौहानले १२ रनको योगदान दिए।

अन्यको प्रदर्शन भनेखराब रह्यो। नेपाललाई कम स्कोरमा रोक्नका लागि श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट लिए भने रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिए।

अब नेपालले आइतबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ।

Featured