देश

दोलखामा खोलाले कार बगाउँदा १ जनाको मृत्यु, २ घाइते

दोलखा, भदौ २०-दोलखामा गएराति खोलाले कार बगाउँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति ११ः३० बजे कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले बगाउँदा तामाकोशी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको हो।

सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र लिखु तामाकोशी गाउँपालिका–२, रामेछापका कार चालक पवन पौडेल पनि कारसँगै बगेका थिए। उनीहरूलाई भने राति नै प्रहरीले उद्धार गरेको छ। विकज नेकपा दाेलखा जिल्ला अध्यक्ष तथा तामाकाेसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका कान्छा छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार सामान्य घाइते उनीहरूलाई अहिले थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। अविरल वर्षासँगै एक्कासि बढेको खोलाले कार बगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

Featured