देश

खतरनाक डेंगुः राजधानी काठमाडौं नै उच्च जोखिममा

काठमाडौं,भदौ २०-डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन्। लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ।

सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो।

काठमाडौंमा मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन्। यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको संख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। यो संख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन्।

काठमाडौंका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको छ। २०७०/७१ मा ३०२ जना, २०७१/७२ मा १३४ जना, २०७२/७३ मा १ हजार ५२७ जना, २०७३/७४ मा २ हजार १११ जना, २०७४/७५ मा ८११ जना, २०७५/७६ मा ३ हजार ५२५ जना डेंगुबाट प्रभावित भएकोमा चालू आर्थिक वर्षको ६० दिनमा २ हजार ९०८ जना यसबाट प्रभावित भइसकेका छन्।

डेंगु महामारीका रूपमा फैलिएपछि मन्त्रालयले घरआँगन सरसफाइबाटै नियन्त्रणमा लाग्न आमनागरिकलाई आग्रह गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए। यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

Featured