देश

कांग्रेसले भदौ २४ गतेदेखी दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्दै

काठमाडौं, भदौ १९–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट सुरु गर्ने भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएका हुन् ।

सो जागरण अभियान ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र त्यसका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रित प्रतिनिधि खटाउने निर्णय गरिएको उनले बताए । भदौ २४ गतेदेखि असोज ७ गतेसम्म आयोजना हुने दोस्रो चरणको १५ दिने सो जागरण अभियान अन्तर्गत कांग्रेसले ७७ वटै जिल्लाका एक लाख युवासँग संवाद गर्ने लक्ष्य राखिएको पनि उनले स्पष्ट पारे ।

जागरण अभियानका क्रममा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रित विशेष संवाद कार्यक्रम आयोजना गरेर एक लाख युवासँग युवा केन्द्रित विशेष संवाद गर्ने कांग्रेसको तयारी रहेको उनले बताए । जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि कांग्रेसले जनाएको छ ।

यस्तै प्रवक्ता शर्माले केन्द्रीय कार्यसमितिले खटाएका प्रतिनिधिहरुले दोस्रो चरणको अभियानमा कम बोल्ने र बढी सुन्ने प्रकृतिका कार्यक्रमहरु तय गरिएको बताए ।

अभियानका क्रममा कांग्रेसले हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा विशेष सामाजिक संवाद, सामाजिक विसंगति विरूद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडा स्तरीय अन्तरक्रिया, अग्रज, सहिद परिवार र द्वन्दपीडितको आँगनमा जाने, पार्टी प्रवेश अभियान, स्थानीय तहको दुई वर्षे समीक्षालगायतका कार्यक्रमहरु तय गरेको पनि उनले जानकारी दिए ।

दुईतिहाइको कम्युनिस्ट सरकारले शासन सम्हालेको दुई वर्ष नपुग्दै नागरिक पंक्तिमा सरकारप्रति आशा, विश्वास र भरोसा हट्दै गएर एक ढंगको वितृष्णा बढ्दै गएको उनको आरोप छ । नेपाली कांग्रेसले यस अघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म गरेको थियो ।

Featured