देश

इलाम अस्पतालः बिरामी बढे, वढेनन् चिकित्सक र सुविधा

इलाम, भदौ १९–बिरामीको संख्या बढेपछि इलाम अस्पताल आउने सेवाग्राहीलाई चिकित्सक र कर्मचारीले विभिन्न बहानामा झन्झट दिने गरेको पाइएको छ । अस्पतालका चिकित्सक र कर्मचारीवीच तालमेल नमिल्दा सेवाग्राही सास्ती खेप्न बाध्य हँुदै आएका हुन् । इलाम अस्पतालमा बिरामीको चाप बढ्दो छ ।

सामान्य रुघाखोकी र भाइरल ज्वरोका बिरामी वढेपछि अस्पतालमा सेवाग्राहीको चाप बढेको हो । बिरामीको संख्या बढेपछि सेवा लिन आएकालाई समस्या भएको छ । इलाम अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीले विभिन्न वहाना बनाएर सेवाग्राहीलाई दुःख दिने गरेको सेवाग्राही धनकुमार योङ्हाङले बताए । इमरजेन्सी र ओपिडीका कार्यरत डाक्टर र कर्मचारीबीच पनि समन्वय हुन नसक्दा यस्तो समस्या भएको र त्यसको असर सेवाग्राहीलाई पर्ने गरेको उनले जानकारी दिए ।

एक मात्र सरकारी अस्पताल रहेको इलाममा उपचारका लागि धेरै विरामी आएपनि सेवा नपाउँदा रित्तै हात फर्कँदै आउनुपरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । जिल्लामा एउटा मात्र अस्पताल रहेपनि छिटो र सहज रुपले उचार सेवा नपाएपछि सेवाग्राही मारमा परेका हुन् । रुघा, खोकी र भाइरल ज्वरोका विरामीको चाप दैनिक बढ्दै गएपछि अझ सेवाग्राहीले समयमै उपचार पाउन सकेका छैनन् । ५० शैय्या रहेको सो अस्पतालमा एक सातायता मात्र दैनिक एकसय जनाभन्दा बढी बिरामी आउने गरेका छन् ।

बिरामीको संख्या बढेपछि उपचारमा समस्या भएको अस्पतालले स्वीकार गरेको छ । अस्पतालकी चिकित्सक दिपीका रिजालले विरामीको चाप अत्याधिक बढेकाले उपचार सेवामा कठिनाई भइरहेको बताइन् ।

उनले हाल अस्पतालमा रुघा, खोकी र ज्वरोका बिरामी बढेको जानकारी दिइन् । उनले भनिन्, ‘जनशक्ति अभाव छ । विरामीको चाप एकदमै बढी छ, त्यसैले सेवा दिन केही कठिनाई भएको हो ।’ बिरामी बढेपछि सेवा नपाउँदा सामान्य रोगको उपचारका लागि पनि सेवाग्राही जिल्ला बाहिर गएर समय र पैसा सर्च गर्न बाध्य हुँदै आएका छन् ।

Featured