विदेश सूचना/ प्रबिधि

गुगललाई १७० मिलियन डलर जरिवाना, युट्युबमा गोपनियता उल्लंघन गरेको आरोप

काठमाडौं, एजेन्सी, भदौ १९-अमेरिकास्थित फेडरल ट्रेड कमिशन (एफटीसी) र न्यू योर्कको अटर्नी जनरल (महान्यायधिवक्ता) को कार्यालयले गुगललाई १७० मिलियन डलर जरिवाना गरेको छ। युट्युबमा बालबालिकाको गोपनीयता उल्लंघन गरेका कारण यति धेरै जरिवाना गरिएको बताइएको छ।

भिडियो साइटले जानाजानी र अवैध रूपमा युवाको बारेमा सूचना संकलन गरेको र यो डेटा बच्चाहरूका लागि लक्षित गर्न प्रयोग गरेको आरोप समेत गुगलमाथि लगाइएको छ। युट्युबले बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐनलाई समेत उल्लंघन गरेको आरोप एफटिसी र अटर्नी जनरलले लगाएका छन्। ती निकायले यूट्यूबलाई आफ्नो बाल नीति परिवर्तन गर्न निर्देशन समेत दिएका छन्। बच्चाको गोपनीयता ऐन अन्तर्गत अमेरिकामा गरिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै ठूलो रकमको जरिवाना हो।

यो सजाय तोकिएसँगै अमेरिकी अधिकारीहरूले गुगलको स्वामित्वमा रहेको युट्युबले गलत तरिकाले बच्चाहरूको डाटा संकलन गरिहेको समेत आरोप लगाएका छन्। अधिकारीहरूले युट्यूबले बच्चाहरूबाट जानकारी धेरै जानकारी संकलन गर्ने र यसलाई विज्ञापन बढाउन प्रयोग गरेर लाखौं डलर कमाउने गरेको आरोप समेत लगाएका छन्।

गुगल(ट्यूब) जरिवाना तिर्न सहमत भएको समेत अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो जरिवानामध्ये १३० मिलियन डलर एफटीसीमा र ४० मिलियन डलर न्यु योर्क अटर्नी जनरलमा लिने जनाइएको छ।

Featured