देश

चार थान पेस्तोलसहित धनगढीमा तीन जना पक्राउ

धनगढी, भदौ १९–सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ धनगढी उप–महानगरपालिका वडा नम्वर ३ चटकपुरमा एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो।

धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको परिचय खुलाइएको छैन । उनीहरुबाट राष्ट्र बैंकका नक्कली कागजात, किर्ते तमसुक, सुनका गहना पनि बरामद भएको प्रहरी श्रोतले जानकारी दिएको छ। बरामद गरिएको सुनको परिणाम पनि प्रहरीले गोप्य राखेको छ ।

भाडामा बस्ने तीनै जनाका बारेमा सूचना पाएपछि उनीहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोली धनगढी आएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नायव उपरीक्षक दक्षकुमार बस्नेतले पेस्तोलसहित तीन जना पक्राउ गरेको पुष्टि गरे । घटनाको बिस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत दिइने उनले बताए।