देश

मन्त्री योगेशले मागे प्रचण्डको साथ, रन–वे बढाउन ब्यारेक सारिने

काठमाडौं, भदौ १९–भरतपुर विमानस्थल विस्तारका लागि सेनाले प्रयोग गर्ने जग्गा विकल्पको रूपमा प्रस्ताव गरिएको छ। रन–वे बढाउनका लागि पश्चिमतर्फ रहेको सेनाको घोडा प्रजनन केन्द्रलाई विकल्पका रूपमा अघि सारिएको हो। उत्तरतर्फ रहेको ब्यारेक र घोडा फर्मलाई स्थानान्तरण गरेर त्यसमा विमानस्थल विस्तार गर्न भरतपुर महानगरले प्रस्ताव गरेको हो।

भरतपुर महानगर–१ स्थित ठिमुरामा सेनालाई सारेर विमानस्थल फराकिलो बनाइने भएको हो। यसबाट ४ सय मिटर धावनमार्ग बढाउन सकिने प्रस्तावमा उल्लेख छ। विमानस्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीच बुधबार गरिएको अन्तरक्रियामा जिल्लास्थित सांसद, राजनीतिक दल, जनप्रतिनिधि एवं व्यवसायी सहभागी थिए।

सबैको साझा निर्णयमा विमास्थलको क्षेत्र विस्तार गरिने नगर प्रमुख रेणु दाहालले बताइन्। ‘७२ सिटे विमानसहित रात्रिकालीन सेवा आवश्यक छ’, उनले भनिन्, ‘अहिलेको आवश्यकताअनुसार सेनालाई विकल्प दिएर पहल थालेका छौं।’ यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।