देश

दसैं अग्रिम टिकट बुकिङ अझै अन्योल

काठमाडौं, भदौ १९–दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन्। तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ । बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो।

व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् । उनीहरूले भाडा बढाउनुपर्ने विषयलाई पनि घुमाउरो पाराले अघि सारेका छन्। भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका छन्।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच बुधबार अग्रिम टिकट बुकिङ खुलाउने तयारीसम्बन्धी छलफल भएको थियो । दुई पक्षीय छलफलमा सबै तयारी पूरा गरी अर्को साता अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने सहमति भएको छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured