देश

जनभोजका लागि मुक्तिनाथ विकास बैंकको ५० हजार सहयोग

काठमाडौं, भदौ १८–मुक्तिनाथ विकास बैंकले प्रेमसागर फाउण्डेसन नेपालले आयोजना गरेको जनभोज अभियानलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका धार्के शाखाका प्रमुख राजीव आचार्यले उक्त संस्थाका व्यवस्थापक भोला राउतलाई हस्तान्तरण गरेका हुन् ।

धादिङको थाक्रे गाउँपालिका–५, दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । फाउण्डेसनले हरेक दिन करिब ५ सय स्कुले बालबालिका तथा वृद्धवृद्धाहरूलाई निःशुल्क भोजन खुवाउँदै आएको र करिब १ हजार ५ सय स्कुले बालबालिकालाई ताजा खाजा स्कुलमा पुर्याउँदै आएको छ । बैंकले जनभोजका लागि १ दिनको लागत खर्चका लागि उक्त रकम सहयोग गरेको हो ।

बैंकले अहिले देशभर रहेका आफ्ना १ सय २० वटा शाखा, २२ वटा एटीएममार्फत करिब ७ लाख ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा योजना पनि सञ्चालनमा ल्याएको छ ।

साथै, बैंकले आफ्नै रेमिट ‘मुक्तिनाथ रेमिट’ले चाडपर्वलाई लक्षित गरी भदौ १, २०७६ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्सकेन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ जस्तो ग्राहकमुखी योजनासमेत सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।