विदेश

न्युजिल्यान्डमा चिनियाँ पर्यटक बस दुर्घटना हुदाँ ६ जनाको मृत्यु

रोटोर्वा, रासस/सिन्ह्वा, भदौ १८-न्युजिल्यान्ड रोटोर्वा नजिकै चिनियाँ पर्यटक बोकेको एक बस दुर्घटनामा पर्दा ६ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ।

न्युजिल्यान्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले सो दुर्घटना भएको र त्यसमा परी ६ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन्।

चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आवद्ध भएको चिनियाँ राजदूतावासले दिएको जानकारीमा उल्लेख छ।

चिनियाँ दूतावासले बुधबार विज्ञप्तिमा प्रकाशन गर्दै आकस्मिक छानबीनको संयन्त्र सुरू गरेको जनाएको छ। दूतावासबाट नै छानबीन समिति गठन गरी उक्त सवारी दुर्घटनाको कारणको बारेमा छानवीन गरिने जानकारी दिइएको छ।

चिनियाँ राजदूत वु सिले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र उनीहरुका आफन्तप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइते चिनियाँ पर्यटकलाई सहयोग गर्न दूतावासका कर्मचारी निर्देशन दिएका छन्।

चिनियाँ दूतावासले न्युजिल्यान्ड सरकारलाई घाइतेहरुलाई बचाउन प्रभावकारी कदम चाल्न, दुर्घटनाको कारण छिटोभन्दा छिटो पत्ता लगाउन आग्रहसमेत गरेको छ।

सो दुर्घटना भएको समयमा २० भन्दा बढी व्यक्ति बसमा सवार रहेको न्युजिल्यान्ड प्रहरीले जानकारी दिएको छ।

Featured