देश

किसान–गरिबलाई दुःख दिएर समृद्धि आउँदैन : साह

काठमाडौं, भदौ १८–नेकपाका नेता तथा सांसद प्रभु साहले किसान र गरिबलाई दुःख दिएर मुलुकले समृद्धि हासिल गर्न नसक्ने गुनासो गरेको छन् । प्रतिनिधि सभाको बैठकमा बुधबार विशेष समय लिएर बोल्दै सांसद साहले किसान र गरिबलाई चर्को ब्याज लिने बैंकले सुविधाभन्दा जनतालाई दुःख दिएको गुनासो गरे ।

‘किसान र गरिबलाई ऋणको अधिकार छ कि छैन’, सांसद साहले प्रश्न गरे, ‘सयकडा ५ प्रतिशत मासिक ब्याज लिने, मिटर ब्याजमा लगानी गर्ने र ऋण नै दिन नचाहने तर १ लाख ऋण दिए पनि ५ लाखको कागज बनाईने घटना सरकारलाई थाहा छ कि छैन ?’

साहले कुल आम्दानीको ३० प्रतिशतभन्दा बढी कृषि क्षेत्रको योगदान भएपनि कृषिमा ऋण १० प्रतिशत मात्र लगानी गरेर समृद्धि सम्भव नभएको बताए । उनले प्रश्न गरे, ‘कृषिलाई आधुनिकीकरण गरिएन भने समृद्धि कसरी आउँछ ?’साहले किसानलाई ब्याज अनुदान सरकारले दिए पनि बिचौलिया र बैंकका भ्रष्ट कर्मचारीले त्यसको लाभ लिइरहेको दाबी गरे । साहले वास्तविक किसानमा त्यो सुविधा नपुगेको बताए ।