देश

सडकमा सयौंले गरे नांगै साइकल र्याली

एजेन्सी, भदौ १८–सयौं मान्छेहरु सर्ट र पेन्टमात्र होइन भित्री लुगा पनि खोलेर सडकमा आए । एकअर्काको शरीरमा विभिन्न उज्याला रंग दलेर रंगीचंगी भए । अनि साइकल चढेर फिलाडेल्फियाको सडकमा निस्किए । हरेक वर्ष फिलाडेल्फियामा ‘फिल्ली नेकेड बाइक राइड’ अर्थात नग्न साइकल र्याली हुने गर्छ । यसपटक र्यालीको एघारौं संस्करण थियो ।

र्यालीमा लगभग ३ हजारको सहभागिता थियो । केही पूर्ण लुगामा थिए भने धेरै अण्डरवेयरमात्र लगाएका थिए । बाँकीले पूर्ण रुपमा नग्न भएर शरीरमा रंगमात्र दलेका थिए । मेलाइनी र जेम्स ओ’कोनर एकअर्काको नांगो शरीरमा विभिन्न रंग दलिरहेको देखिन्थे । उनीहरु सातौं पटक र्यो यालीमा सहभागी भइरहेका थिए । ‘हामी प्राय नाङ्गै हिँड्छौ’, जेम्सले भने ।

उनीहरुको भेट पनि यही र्यालीमा नांगै हिँड्ने क्रममै भएको थियो । २०१२ को र्यालीमा पहिलोपटक भेट भएको यो जोडी त्यसपछि सधैं सँगै छ । ‘हामी पहिलोपटक यहाँ भेट हुँदा मैले उसको नांगो फोटो लिएको थिएँ । आज ७ वर्षपछि पनि हामी सँगै छौं, नाङ्गै छौं ।’, मेलाइनीले हाँस्दै भनिन् । र्यो यालीको मुख्य लक्ष्य भनेको शरीरको सकारात्मक छवि प्रवाह गर्नु, साइकलयात्रीको सुरक्षाका विषयमा सचेत गर्नु र फोसिल फ्यूलमा बढ्दो निर्भरताको विरोध गर्नु हो ।

सुरुदेखि सबै संस्करणमा सहभागी भइरहेका ओरेन रोथ–आइसेनबर्गलाई फोसिल फ्यूलको मुद्दाले विशेष आकर्षण गर्छ । उनले उत्साहित हुँदै भने, ‘यो मेरो लागि क्रिसमसजस्तै हो । वर्षको सबैभन्दा खुशीको दिन । वास्तवमा यो सबैभन्दा महत्वपूर्ण र सबैभन्दा खुशीको दिन हो ।’ फिल्ली नेकेड बाइक राइड पहिले सेप्टेम्बरमा हुन्थ्यो । तर, सहभागीहरुले चिसो मौसमका कारण नाङ्गै हिँड्न गाह्रो भएको गुनासो गरेपछि अगस्टमा सारिएको हो ।