देश

एटीएम ह्याक प्रकरण : बैंकका सीईओमाथि छानबिन गर्न माग

काठमाडौं, भदौ १८–पाँच वटा वाणिज्य बैंकबाट चिनियाँ ह्याकरले एटीएममार्फत रकम चोरेको घटनामा बैंकका सीईओ र संचालकमाथि छानबिन गरी कारबाही गर्न संसदमा माग गरिएको छ । नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले बुधबार प्रतिनिधिसभाको शून्य समयमा पाँच वटा बैंकबाट तीन करोड ४२ लाख रुपैयाँ झिकेको घटना बैंकको कर्मचारी नमिली एटीएमबाट रकम झिक्न नसक्ने दाबी गरे ।

‘बैंकका सीईओ र संचालकले जनताको पैसा चलाएको छैन भनेछन्,’ लामाको प्रश्न थियो, ‘बैकमा जनताको नभएर कसको पैसा लुटेछन् ?’ उनले बैंकका संचालक र कर्मचारीमाथि निगरानी गर्न र अनुसन्धान थाल्न आग्रह गरे । सांसद लामाले बैंकको पैसा लुट्नेलाई समयमै गिरफ्तार गर्न सकेकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएका थिए । शून्य समयमा नेकपा सांसद दिजुलीकुमारी महतोले नागरिकता विधेयक अझै राज्य व्यवस्था समितिमा विचाराधीन हुँदा तराई मेधेसका हजारौं नेपाली युवाले पढ्न र रोजगारीका लागि अवसरबाट वञ्चित भएको बताइन् ।

विपक्षी कांग्रेसका सांसद अतहर कमाल मुसलमानले वाइडबडी काण्ड छानबिनका लागि सरकारले आयोग गठन गरे पनि त्यसको प्रतिवेदनको बारेमा सदनमा जानकारी नभएको बताए । ‘सार्वजनिक लेखा समितिले दिएको निर्देशन वाइडबडी खरिद प्रकरणमा पालना भएन’, मुसलमानले भने, ‘बालुवाटारको जग्गा प्रकरणमा ठूला नेतादेखि कर्मचारीसमेत संलग्न थिए । मन्त्रिपरिषद् बैठकले व्यक्तिको नाममा रहेको जग्गा फिर्ता गर्न भूमिसुधार मन्त्रीलाई निर्देशन दियो तर कारबाही कहाँ गयो ?’

उनले भ्रष्टाचारै भ्रष्टाचारमा देश भरिएको भन्दै भ्रष्टाचारबारे बोल्न पाइँदैन भनेर विधेयक ल्याए सरकारलाई सजिलो हुन्थ्यो कि भनेर व्यंग्य गरे ।अर्का सांसद उमाशंकर अरगरियाले धनुषाको कमला नदी नियन्त्रणको नाममा ३० देखि ५० प्रतिशतसम्म कमिसनको कुरा आएको भन्दै जनताले पानी खान नपाएकोर सिँचाइसमेत नभएकोले यसमा भएको भ्रटाचारको छानबिन गर्न माग गरे ।

सत्तारुढ नेकपा सांसद कृष्णगोपाल श्रेष्ठले यसपालीको इन्द्र जात्रा २७ भदौमा परेकोले सार्वजनिक कार्यक्रममा निमन्त्रणा गर्दै सुन्धारा र धरहराबीचमा पर्ने उपाकु मार्ग बन्द भएकोले त्यसलाई खोल्न माग गरे। सांसद श्रेष्ठले सरकारले त्यसलाई समयमै सम्वोधन नगरी त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनु पर्ने बताए ।

Featured