देश

बालुवाटार जग्गा प्रकरणः अख्तियारले बयानका लागि बोलायो ५८ जना

काठमाडौं, भदौ १८–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणअन्तर्गत बयानका लागि ५८ जनालाई बोलाएको छ । बुधबार एक सूचना जारी गर्दै अख्तियारले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका कामना गुरुङ, मनोजकुमार केडिया, सिपिका खेतान, कल्पना तुलाधर लगायत गरी ५८ जनालाई बोलाएको हो । अनियमितताको छानबिनका लागि आरोपितहरुलाई सात दिनको समय दिइएको छ ।

‘ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं, बालुवाटारको २९९ रोपनी सरकारी जग्गा, मालपोत कार्यालय, काठमाडौं, डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनाधिकृत व्यक्तिहरुलाई जग्गा धनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुसन्धान शिलशिलामा तपाईँसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ’, अख्तियारद्वारा जारी सूचनामा उल्लेख छ । यसअघि पनि अख्तियारले २ पटकसम्म सार्वजनिक सूचना प्रकाशन गरी अनियमिततामा मुछिएकाहरुलाई बयानका लागि बोलाएको थियो । अख्तियारले गत असार ११ र १२ मा सूचना प्रकाशित गर्दै ८९ जनालाई बयानका लागि डाकेको थियो ।

Featured