देश

उखु किसानले भुक्तानी पाए

विराटनगर, भदौ १८–इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यस वर्ष १ लाख ६ हजार ७६ क्विन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले उक्त परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करिब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्विन्टल उखु खरिद गरेको थियो ।

उखु किसानलाई मिलले प्रतिक्विन्टल ४४१.२८ रूपैयाँका दरले ५२ करोड १ लाख ३ हजार ५४० रूपैयाँ भुक्तानी गरेको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा सरकारले ५०६.२८ रूपैयाँ प्रतिक्विन्टल मूल्य निर्धारण गरेको थियो भने सरकारले प्रतिक्विन्टल ६५ रूपैयाँ व्यहोर्ने भनिएको थियो ।

मिलबाट सबै किसानले उखुको भुक्तानी पाए पनि सरकारले व्यहोर्ने भनेको रकम ७ करोड ६६ लाख १० हजार ६२५ भुक्तानी हुन बाँकी रहेको प्रबन्धक मेहताले जानकारी दिए । नगदेबालीका रुपमा रहेको उखु सुनसरी मोरङमा करिब पाँच हजार बिघा जग्गामा हुने गरेको छ भने यस वर्ष झापाबाट करिब १० हजार क्विन्टल उखु मिलमा आएको बताइएको छ । (रासस)

Featured