देश

उपमहानगरपालिकाद्वारा सडक मिचेर संरचना निर्माण

धनगढी, भदौ १८–धनगढीको अति व्यस्त ठाउँ हो, पार्क मोड । जहाँ दैनिक हजारौँको संख्यामा सर्वसाधारण र सवारी साधनको आवत आवतजावत हुने गरेको छ । तर त्यहाँ साँघुरो सडक छ । त्यो पनि ठाउँ–ठाउँमा खाल्डा खुल्डी, त्यसैमाथि सडक क्षेत्रमै धनगढी उपमहानगरपालिकाले संरचना निर्माण गर्न थालेपछि झनै सास्ती थपिएको छ ।

धनगढी बजारका अधिकांश सडक साँघुरा छन् । जसले गर्दा सर्वसाधारणलाई हिँडडुल गर्न सास्ती मात्रै होइन, दुर्घटनाको जोखिम पनि बढ्दो छ । तर सरोकारवाला निकायले चासो दिएका छैनन् । धनगढी बजारको अति व्यवस्थित ठाउँ हो, पार्क मोड । प्रदेशसभा, जिल्ला समन्वय समिति र आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि त्यसै सडकसँग जोडिएका कारण मानिसहरूको आवतजावत बाक्लै हुने गरेको छ ।

सडक फराकिलो बनाउनुको सट्टा उपमहानगर आफैं सडक अतिक्रमणमा लागेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । सडक फराकिलो बनाउनुको सट्टा उपमहानगरपालिकाले सडक अतिक्रमण गरी दुर्घटनाको जोखिम बढाएको धनगढी चटकपुरका नवराज शर्माले बताए । पार्कमोडको सडक साँघुरो मात्र नभई ठाउँ ठाउँमा खाल्डा खुल्डी छन् ।

धनगढी हसनपुरका मनोज जोशी भन्छन्, ‘झन् त्यसैमाथि धनगढी उपमहानगरपालिकाले संरचना निर्माण गर्दा दुर्घटनाको जोखिम बढ्छ । उपमहानगरपालिकाले सडकमै संरचना बनाउनु गलत हो ।’

सडक क्षेत्रमा संरचना निर्माणका लागि उपमहानगरपालिकाले स्थानीय ठेकेदारलाई १५ लाखमा ठेक्का दिएको छ । सडक छेउका खोका, ठेलाको व्यवस्थापन र सांस्कृतिक संग्रहालयको लागि संरचना निर्माण भइरहेको उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले बताए । हालसम्म ५ लाखको काम सम्पन्न भइसकेको उनले बताए ।

धनगढी उपमहानगरपालिका सडक अतिक्रमणमा उत्रिएको स्थानीयहरूको आरोप लागिरहँदा नगर प्रमुख नृप वडले भने पार्कमोडमा सवारी आवागमनमा रोक लगाउने बताए । पार्क क्षेत्रमा विभिन्न संरचना निर्माण गरी पैदल मार्ग बिस्तार गर्ने तयारी रहेको उनको भनाई छ । स्थानीयहरूले नबुझेका कारण विरोध गरे पनि संरचना निर्माण वैधानिक रहेकाले नरोकिने उनको दाबी छ ।

Featured