देश

उपयोग घटेपछि काठ कुँद्ने पेसा संकटमा

गलेश्वर, भदौ १८–कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेसामा लागेका व्यवसायी समस्यामा पर्न थालेका छन् । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख बिरुवा र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायी संकटमा परेका हुन् ।

वर्षौंदेखि काठ कुँद्ने पेसा गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले काठ कुँद्ने पेसाबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताए । १०(१२ वर्षको उमेरदेखि बाबु बाजेले अँगाल्दै आएको पेसा आफूले पनि सम्हालेको बताउने विश्वकर्माले यतिञ्जेलसम्म यही पेसाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकामा चिन्ता व्यक्त गरे ।

खासगरी काठबाट ठेका बनाउन विश्वकर्मा निकै खप्पिस छन् । ठेका कुँद्ने कामलाई गाउँघरमा चुधाँरा पेसा भन्ने गरिन्छ । उनले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायतका ठाउँमा बिक्री हुने गरेकामा हाल आएर काठका सामानको बिक्रीमा कमी आएको छ ।

केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५(३० हजार रूपैयाँसम्म आम्दानी गर्ने विश्वकर्माले पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेको बताए । अहिले मुस्किलले मासिक पाँच(सात हजार रूपैयाँ मात्र कमाइ हुने गरेको बताउँदै विश्वकर्माले भने, ‘प्लास्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छोड्यो, अब त दुःख पनि उठ्दैन ।’

बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेसा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारले बताएका छन् । विशेष गरेर काठका ठेका, ठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटोलगायतका सामान बनाउने गरेका विश्वकर्माले यी सामान बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गरेको बताए । (रासस)