देश

भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण

भक्तपुर, भदौ १८–भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण भेटिएपछि रोग नियन्त्रण तथा रोकथाम अभियान सुरु गरिएको छ । सो अभियान अन्तर्गत जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेंगुका बारेमा गम्भीर छलफल गरि नियन्त्रणको रणनीतिक योजना बनाएका छन् ।

जिल्लामा द्रुत प्रतिकार्य समुहको बैठक बसी रोकथाम गर्ने अभियान सुरु गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । भट्टले जिल्लामा रोग रोकथाम गर्ने अभियान सुरु गरिएको बताउँदै जिल्लाभर यो अभियान सुरू गरेको जानकारी दिए ।

जिल्लाका चारवटै नगरपालिकामा रोग नियन्त्रण तथा रोकथाम अभियान गर्न एक समन्वय समिति बनाईएको उनले बताए । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले अभियान अन्तर्गत सुर्य्बिनायक नगरपालिका भित्रका जनप्रतिनिधि,पत्रकार, स्वास्थ्यचौकी र नगर स्वास्थ्य केन्द्रका प्रमुखसँग डेंगु रोकथामका बारेमा समन्वय बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा सूर्य्विनायक नगरपालिका प्रमुख बासुदेब थापाले डेंगु रोग नियन्त्रणका लागि नगरबाट पनि प्रयास जारी रहेको जानकारी दिएका थिए । डेंगु रोग नियन्त्रण सम्बन्धी समन्वयात्मक बैठकमा बोल्दै प्रमुख थापाले डेंगु रोग नियन्त्रणका लागि नगरले सबै खालका प्रयास र प्रयत्नहरु गर्ने र सातादिनसम्म निरन्तर माईकिङ गरेर डेंगु नियन्त्रणबारे नगरबासीलाई सचेत गराईने अभियान थालनी गर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी तथा गैर सरकारी संघ–संस्थाका प्रतिनिधि, पत्रकार लगायतको टोलीले डेंगु रोग नियन्त्रणका लागि संयुक्त पहल थाल्ने बताएका छन् । त्यसैगरी नगरपालिका स्वास्थ्य इकाइ संयोजक बसन्त चापागाईंले डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको जानकारी दिए ।