विदेश

जोनसनको ब्रेक्जिट नीतिमाथि संसदको झट्का

एजेन्सी, भदौ १८–बेलायती प्रधानमन्त्री बोरिस जोनसले आफ्नो ब्रेक्जिट नीतिमा नराम्रो झट्का पाएका छन् । विपक्षी तथा वागी कन्जरभेटिभ सांसदहरूले जोनसनको ब्रेक्जिट नीतिको विपक्षमा मतदान गरेका हुन् । सांसदहरुले संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा मतदान गरेका छन् । जसको अर्थ उनीहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्नेछन् ।

सो विधेयकमाथि संसद्मा बुधवार छलफल हुने तय भएको छ। मंगलबारराति भएको मतदानमा सरकारको पक्षमा ३०१ मत परेको थियो भने विपक्षमा ३२८ मत खसेको थियो। प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने बताएका छन्। सरकार २८ अक्टोबरमा आम चुनाव गराउने पक्षमा रहेको बताइन्छ । यो मिति ब्रसेल्समा युरोपेली संघको महत्त्वपूर्ण बैठक बस्नुभन्दा दुई दिनअगाडि हो।

प्रधानमन्त्री जोनसनले संसदमा बहुमत गुमाएका छन् । पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्रेटिकमा गएपछि जोनसनले संसद्मा बहुमत गुमाएका हुन्। योसँगै ६ सय ५० सदस्यीय बेलायती संसद्मा कन्जरभेटिभ पार्टीको ३०९ र डेमोक्रेटिक युनियन पार्टीका १० सांसदसहित जोनसनसँग ३१९ सांसदको समर्थन छ भने विपक्षी दलसँग ३२० सांसद पुगेका छन् ।

जोनसन गत जुलाईमा प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री जोनसनले संसद्लाई सम्बोधन गरिरहँदा फिलीप ली विपक्षीको स्थानमा गएर बसेका थिए। उनले सरकारले अप्रत्याशित ढंगले ब्रेक्जिट प्रक्रियामा नोक्सानी र्पुयाएर जनताको जीवन र जीविका दुवैका क्षति पु¥याएको उनको आरोप छ । संसद्मा बोल्दै विपक्षी नेता जेरमी कोर्बिनले सहमति विनाको ब्रेक्जिट प्रक्रियाका लागि संसद् सहमत नरहेको बताएका छन् । उनले सहमति विनाको ब्रेक्जिट प्रक्रिया अघि बढाउन सरकारसँग बहुमत पनि नरहेको बताए । गत साता ब्रेक्जिट प्रक्रियाको महत्त्वपूर्ण पाँच साताका लागि संसद निलम्बन गर्ने सरकारको प्रस्ताव महारानीले स्वीकृत गरेकी थिइन् ।

Featured