खेलकुद विदेश

श्रीलंकाविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज न्युजिल्यान्डलाई

काठमाडौं, एजेन्सी, भदौ १८-श्रीलंकाविरुद्ध तीन खेलको टी–२० क्रिकेट सिरिज न्युजिल्यान्डले जितेको छ। न्युजिल्यान्डले एक खेल अगावै  उक्त सिरिज जितेको हो।

मंगलबार राति भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई चार विकेटले हरायो। यो जीत संगै न्युजिल्यान्डले सिरिज २–० ले जित्यो। पहिलो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई पाँच विकेटले हराएको थियो।

श्रीलंकाले दिएको एक सय ६२ रनको लक्ष्य न्युजिल्यान्डले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो। न्युजिल्याण्डको जितमा कोलिन डी ग्रान्डहोम र टम ब्रुसले अर्धशतकीय इनिङ्स खेले। ग्रान्डहोमले ५९ र ब्रुसले ५३ रन बनाए।

श्रीलंकाका अकिला धनन्जयले तीन विकेट लिएका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो।

श्रीलंकाका लागि निरोसन डिक्वेलाले सर्वाधिक ३९ रन बनाए। अभिस्का फर्नान्डोले ३७, कुशल मेन्डीसले २६ र सेहन जयसूर्याले २० रन बनाए। न्युजिल्यान्डका सेथ रेन्सले तीन विकेट लिए ।

टिम साउथी र स्कोटले दुई दुई विकेट लिएका थिए।

Featured