खेलकुद देश

छैठौँ मणिमुकुन्द कप भलिबल भदौ २० गतेदेखी

बुटवल, भदौ १७–मणिमुकुन्द भलिबल क्लबको आयोजनामा छैटौं मणिमुकुन्द कप अन्तर विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । भदौ २० गतेदेखी २३ गतेसम्म हुने प्रतियोगितामा कुल ५० टिमको सहभागिता हुने क्लबका अध्यक्ष मिलन रानाले जानकारी दिए ।

तिलोत्तमा– २ स्थित मणिमुकुन्द भलिबल क्लबको प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले मात्र भाग लिन पाउनेछन् । १ लाख ५० हजार खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुने छात्ररछात्राले नगद १२ हजार ५ सय, द्वितीयले नगद ७ हजार र तृतीयले नगद ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विद्यालयस्तरबाटै भलिबल खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लबले प्रत्येक वर्ष अन्तरविद्यालय भलिबल प्रतियोगिता गर्दै आएको अध्यक्ष रानाले बताए । पाँचौं अन्तरविद्यालय भलिबल प्रतियोगितामा छात्ररछात्रा दुवैतर्फ सिद्धार्थ बाडिङले उपाधि उचालेको थियो । कार्यक्रममा बोल्दै क्लबका वरिष्ठ सल्लाहकार टुकबहादुर क्षत्रीले विद्यालय तहमा खेलाडी उत्पादन गर्न क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रम क्लबका सचिव मेघराज भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

Featured