देश

नेपाली सेनाद्धारा पश्चिम एयर बेस सञ्चालनमा

काठमाडौं, भदौ १७–नेपाली सेनाले पश्चिम एयर बेस सञ्चालनमा ल्याएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुर्खेतस्थित नेपाली सेनाद्वारा स्थापना भएको पश्चिम एयर बेसको मंगलबार औपरारिक रूपमा उद्घाटन गरेका हुन् । सेनाले पश्चिम र पूर्वमा एयर बेस स्थापना गरी काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको हवाई सुविधालाई मुलुकभर विस्तार गर्ने नीतिअनुसार सुर्खेतस्थित पश्चिम एयर बेसको शुभारम्भ गरेको प्रधानसेनापति थापाको भनाइ छ ।

सुर्खेतस्थित पश्चिम एयर बेसमा एमआई १७ हेलिकोप्टरसहित दुईवटा हेलिकोप्टर नियमित रूपमा तैनाथ हुने प्रधानसेनापति थापाले जानकारी दिए । पश्चिम एयर बेसको सञ्चालनले पश्चिम तथा सुदूरपश्चिमका जनतालाई विपद् तथा आकस्मिक घटनाहरूको समयमा छिटोछरितो र प्रभावकारी ढंगबाट उद्धार तथा राहत वितरण कार्यमा मद्दत पुग्ने सेनाले जनाएको छ ।

एयर बेस उद्घाटनमा सेनाको युद्धकार्य महानिर्देशक, व्यवस्था नीति तथा योजना महानिर्देशक, प्रबन्ध तथा सम्भार रथी, सैनिक हवाई महानिर्देशक, उत्तर पश्चिम पृतनापतिलगायत उच्च सैनिक अधिकारीहरूको उपस्थिति थियो ।