देश

यस वर्षको ‘ग्लोकल टिन हिरो’ को उपाधी मोरङका समीर फुयाललाई

काठमाडौँ, भदौ १७–यस वर्षको ग्लोकल टिन हिरोको उपाधी मोरङका समिर फुयालले जित्न सफल भएका छन् । सयौँ प्रैतिष्पर्धीहरुलाई पछि पार्दै मोरङको सुन्दरहरैंचा नगरपालिका–७ स्थित गोठगाउँका फुँयालले पाँचौं संकरणको ग्लोकल टिन हिरोको उपाधि जितेका हुन् । संघिय राजधानी काठमाडौँ स्थित सोल्टी होटलमा आइतबार आयोजित फाइनल चरणमा अन्तिम छनोटमा परेका आफ्ना पाँच प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले ‘ग्लोकल टिन हिरो २०१९ को उपाधि जितेका हुन् ।

किशोरकिशोरीमा भएका क्षमता प्रस्फुटन गरी समाजमा परिचित गराउन सन् २०१५ देखि सुरु भएको यो प्रतिस्पर्धाका लागि देशभरबाट यस वर्षका लागि ५ सय ८९ जनाले आवेदन दिएका थिए। तीमध्येबाट विभिन्न क्षमताका आधारमा उत्कृष्ट ६ छनोट गरिएको थियो । आवेदकहरूले पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलतादेखि सामाजिक कार्यमा राम्रो प्रभाव पर्ने काम गरेका छन्। उत्कृष्ट ६ मा पर्नेहरू १४ देखि १९ वर्ष उमेरसमूहका थिए । यस कार्यक्रमको उद्देश्य उनीहरूको काम सवै माझ सार्वजनिक गरेर उनिहरुको कामलाई प्रोत्साहन गर्नु हो।

फुयालले इन्टरनेटकै प्रयोग गरेर अनलाइन विज्ञापनको वेभसाइट बनाएका छन् । उनको नयाँ किनमेल डटकम नामक वेभसाइट सञ्चालनमा छ, जसमा उत्पादन भएका स्थानीय सामानको विज्ञापन प्रयोगकर्ता स्वयंले गर्न सक्छन् । सामानको विज्ञापन गर्न यो एउटा निःशुल्क प्लेटफर्म हो । मोरङको विराटचोक स्थित सुकुना माविमा विज्ञान विषय लिइ अध्ययन गरिरहेका फुयाल कम्प्युटर र इन्टरनेटका सौखिन हुन भने त्यसको सहि सदुपयोग गर्न समेत उनले जानेका छन् ।

उनको हातमा मोबाइल पर्ने वित्तिकै इन्टरनेटबाट नयाँ नयाँ विषयको खोजि गरेर त्यसको प्रयोग गर्दै आएका फुयाल इन्टरनेटको माध्यमबाट सवै उपाय निकै सुविधायुक्त लाग्ने गरेको बताउँछन् । कम्प्युटर प्रोगामिङ उनको रुचिको विषय हो। यसका साथै फुयाल अनलाइनकै माध्यमवाट पाइथन ज्याङ्गो टेक्निकमार्फत एक सय ४० देशका १३ हजारभन्दा बढी मानिसलाई वेभ डेकोरेट सिकाउने गर्छन् । यसका लागि उनले अनलाइनमै पाठ्यक्रम पारेर राखेका छन् । उनको पाठ्यक्रम अनुसार सिक्न वा पढ्न चाहनेले अनलाईन मार्फत अप्लाई गर्ने गरेका छन् । त्यसका लागि उनले भिडियो लेक्चर, आर्टिकल, लिंकलगायतका सामाग्री तयार गरेका छन् ।