देश

मोटरसाइकल चोर पक्रन हवाइ फायर

जनकपुर, भदौ १७–धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका ५ मा मोटरसाइकल चोर समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । चोरीको मोटरसाइकल खरिद बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट एक सादा पोशाकका प्रहरी मुखियापट्टी मुसहर्निया पुगेका थिए। सूचनाअनुसार मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको हो ।

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले पक्राउ गरिएको चोरलाई भगाउन स्थानीयले प्रहरीमाथि हातपातमै उत्रेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गरेको जानकारी दिएका छन् । उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आए पनि स्थानीयको सहयोगमा चोरी गर्ने व्यक्ति मोटरसाइकलसहित भाग्न सफल भएको उनले बताए । चोरको पहिचान खुल्न नसकेको उनको भनाइ छ ।

फरार चोर र भगाउने व्यक्तिको खोजी भइरहेको उपरीक्षक खनालले बताए । ‘जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी घटनास्थल पुगेको छ । चोर र भगाउने व्यक्तिहरूको पनि खोजी जारी छ,’ उनले भने। प्रहरी र स्थानीयबीच सामान्य झडपसमेत भएको छ । प्रहरीले हवाई फायर गर्दा भागाभाग मच्चिएको थियो । अहिले चोरलाई भगाउने व्यक्ति गाउँ छाडेर अन्यत्र भागेका छन् । अहिले गाउँमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।