देश

म्याग्दीमा जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लगियो

पोखरा, भदौ १७–म्याग्दीमा जिप दुर्घटनामा हुँदा तीन जना गम्भीर घाइते भएका छन् । रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलबार दिउँसो सडकबाट झण्डै ३ सय मिटर तल खसेको हो । जिप दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था चिन्ताजनक छ । उनीहरुमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्पतर्फ जाँदै गरेको ग३च २२७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालकसहित तीन इन्जिनियर घाइते भएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका चालक ओमबहादुर पुन र सर्वेयर बुद्धिसागर न्यौपानेलाई थप उपचारका लागि एयर डाइनेष्टीको हेलिकप्टरबाट काठमाडौं लगिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।

दुर्घटनामा घाइते उनीहरुलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि काडमाडौंस्थित मेडिसिटी अस्पताल रेफर गरिएको उनले बताए । घाइते सबै रघुगंगा जलविद्यूत आयोजनामा कार्यरत भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाईते सिभिल इन्जिनियर विसन घिसिङको बेनी अस्पतालमै उपचार भइरहेको छ । उनलाई समेत थप उपचारको लागि काठमाडौं लैजाने तयारी गरिएको आयोजनाले जनाएको छ । घाइतेहरुको उद्धार स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी र प्रहरीले गरेका हुन् ।