देश

स्याङ्जामा चार वर्षीय बालकसहित बुबाको हत्या

पोखरा, भदौ १७–स्याङ्जाको हरिनास गाउँपालिकामा बाबु र छोराको हत्या भएको छ । हरिनास गाउँपालिका ३ स्थित मिनडाँडाका बाबु र छोराको अपरिचित व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ । मंगलबार धारिलो हतियार प्रहारबाट २९ वर्षीय चित्रबहादुर खड्का र उनका चार वर्षीय छोरा रिजन खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

घरमा सुतिरहेका चित्रबहादुर खड्का र उनका ४ वर्षीय छोरा रिजनलाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार बाबुको टाउको र हातहरुमा धारिलो हतियार प्रहार गरिएको छ भने छोराको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । खड्काका पत्नीसहित तीन जना एउटै कोठामा सुतेका थिए ।

खुकुरी प्रहारपछि एउटै कोठाको अर्को खाटमा सुतेकी चित्रबहादुरकी पत्नी चिच्याएपछि आक्रमणकारी भागेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । शव शल्यपरीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ ।

Featured