देश

लुम्बिनी प्रादेशिक अस्पताल विवादमा

बुटवल, भदौ १७–सय वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल विवादमा तानिएको छ । प्रदेश सरकारले अस्पतालमातहतका ७३ वटा सटर भत्काउन निर्देशन दिएसँगै विवाद उत्पन्न भएको हो । गत असारमा मात्र ५ वर्ष सम्झौता गरी अस्पतालका सटरमा व्यवसाय गरिरहेका व्यवसायीले प्रदेश सरकारले हतारमा निर्णय गरेको बताएका छन् । अस्पतालले सटरबाट वार्षिक करोडौं रुपैयाँ आम्दानी गर्दै आएको थियो । तर, प्रदेश सरकारको निर्णयले अस्पतालको यो आम्दानी गुम्ने निश्चित भएको छ ।

यता, प्रदेश सरकार भने अस्पतालले सटर भाडामा लगाएर गर्ने आम्दानी आफैंले दिने बताएको छ । अस्पतालाई सुविधासम्पन्न र अत्याधुनिक बनाउन सटर भत्काएर पर्खाल लगाउने योजना प्रदेश सरकारको छ ।

सिकिस्त छ अस्पताल
वि.सं. १९६७ सालमा दुई जना डाक्टर र ६ शैय्यासहित स्थापना भएको अस्पतालमा अहिले ५७ जना डाक्टरसहित ४ सय १५ कर्मचारी कार्यरत छन् । यो अस्पतालमा वर्षमा करिब २ लाख ३० हजार बिरामीले उपचार सेवा लिइरहेको तथ्यांक अस्पताल प्रशासनसँग छ । यति धेरै बिरामी भर्ना हुने अस्पतालले आन्तरिक कमजोरी तथा सरकारी बेवास्ताका कारण सर्वसाधारणको विश्वास गुमाउँदै गएको देखिन्छ । त्यसबाहेक अस्पतालसँगै रहेका निजी क्लिनिकमा ब्यस्त हुने अस्पतालका डाक्टरकै कारण अस्पतालप्रति जनताको विश्वास गुम्दै गएको छ ।

अस्पतालमा भर्ना भएका बिरामी तथा सेवाग्राही यो वा त्यो बहानामा डाक्टरकै निजी क्लिनिकको सम्पर्कमा पुग्छन् । किनकि त्यहाँ कार्यरत प्रायः सबै डाक्टरहरू निजी क्लिनिकमा आवद्ध छन् । ‘अस्पताल आएपछि डाक्टरले ३ बजेपछि क्लिनिकमा बोलाउनुभएको छ,’ एक बिरामीले हातमा बिरामीको पुर्जी देखाउँदै भने, ‘एक्सरे र ल्याव सबैको रिपोर्ट क्लिनिकमै हेर्ने भन्नुभएको छ ।’

सामान्य चिकित्सा (मेडिकल) विभाग, महिला तथा प्रसूति विभाग, बालरोग विभाग, शल्यक्रिया विभाग, नान, कान र घाँटी विभाग, हाडजोर्नी विभाग, छाला, यौन तथा कुष्ठ रोग विभाग, मानसिक रोग विभाग, आकस्मिक सेवा विभाग, एनेस्थासिया, आईसीयू सेवा, दन्त सेवा विभाग, ल्यावसम्बन्धी सेवा, सीटी स्क्यान सेवासमेत अस्पतालमा छन् । तर, यी सेवामा बिरामीको पहुँच भने निकै कम छ । त्यसको कारण अस्पतालका चिकित्सकहरू र कर्मचारीको बेथिति नै हो ।