देश

चाडपर्व नजिकिँएसँगै मासुको मूल्य वृद्धि

बाँके, भदौ १७–चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वाभाविक रूपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् । भारतबाट खसीको सहजै आयात रोकिएपछि खसीको मासुको मूल्य अकासिएको हो । चार(पाँच महिनाअघिसम्म खसीको मासु प्रतिकिलो ७ सय रूपैयाँ रहेकामा आयात रोकिनेबित्तिकै मासु बढ्दै गएको हो । अहिले बजारमा खसीको मासुको मूल्य प्रतिकेजी ८ सय रूपैयाँ नाघेको छ ।

‘एकातिर भारतबाट आउने खसीको आयतमा प्रतिबन्ध छ भने अर्को्तिर चाडबाड नजिकिँदै गएपछि बजारमा खसीको मासुको माग बढ्न थालेको छ,’ नेपालगन्ज रामबागको मासु बधशालामा मासु व्यवसाय गर्दै आएका मासु व्यवसायी सगदिक कुरेसीले भने, ‘पर्व नजिकिएकाले मासुको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ ।’

भारतबाट सहजै आयात हुँदा प्रशस्त मात्रामा सस्तो मूल्यमा खसी पाइने भएकाले मासुको मूल्य कम थियो । अहिले भारतबाट आयतमा रोक लाग्नु र मासुको माग धान्ने आन्तरिक उपलब्धता नहुँदा मासुको मूल्यवृद्धि हुँदै गएको हो । दुई वर्षअघिसम्म किलोको ६५० मा पाइने मासुको मूल्य ८ सय रूपैयाँ पुग्दा ग्राहक मर्कामा परेका छन् । ‘नेपालमा बजारको माग धान्ने खसी उपलब्ध छैनन्, पाइए पनि जिउँदो खसी भारतमा भन्दा महँगो छ,’ मासु व्यवसायी कुरेसीले भने, ‘महँगो खरीद गर्नुपर्दा बिक्री मूल्य पनि बढेको हो ।’ भारतबाट आयात असहज भएपछि सीमावर्ती जिल्लामा खसी तस्करी पनि हुने गरेको छ ।

पछिल्ला दिनमा प्रहरीले भन्सार छलेर ल्याइएका खसी पटक(पटक नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने गरेको छ । खसी भन्सार छलेर आउँदा राजस्व पनि नोक्सान भइरहेको छ । अहिले नेपालगन्जमा दुब्लो–पातलो खसीको जिउँदो मूल्य प्रतिकेजी ५८०, मध्यमखालको रु ६ सय र राम्रो स्वस्थ खसीको जिउँदो मूल्य ६५० रूपैयाँसम्म छ । दसैंको समयमा नेपालगन्जमा मात्र १० हजारसम्म खसीको माग हुने बताइन्छ ।

मासु व्यवसायी हनिफ कुरेसीले भारतबाट खसीबोका नआए मूल्य अझै अकासिने बताए । उनका अनुसार अहिले गैरकानुनी बाटोबाट केही मात्रामा खसी भित्रिरहेका छन् । उनले भने, ‘दसैंको समयमा भारतबाट खसी नआए मूल्य जिउँदाकै ७ सय रूपैयाँसम्म पुग्न सक्छ, जिउँदो ७ सय पुगे मासुको मूल्य स्वाभाविक रूपमा बढ्छ,’ कुरेसीले भने । रामबागस्थित मासु बधशालामा भेटिएका नेपालगन्ज उपमहानगरपालिका–१८ बस्ने राजेन्द्र सिंहले खसीको मासुको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी तिरेको बताए ।

नियमित रूपमा कुखराको मासु प्रयोग गर्ने र महिनाको एकरदुईपटक खसीको मासु खाने बताउने नेपालगन्ज–१० का हिमाल खनालले खसीको मासुको मूल्य अकासिएपछि खान नसकिने अवस्था सिर्जना भएको बताए । मासुको मूल्य बढेपछि मासुको व्यापार पनि पहिलेको तुलनामा कम भएको मासु व्यवसायीहरुको भनाइ छ । पहिले दैनिक तीन वटासम्म खसी काट्ने व्यवसायी हनिफले अहिले दैनिक एउटा खसीको मासु बिक्री गर्न मुस्किल भएको बताए । (रासस)