विदेश

स्कुलमा बच्चालाई नुनसँग रोटी खुवाएको सूचना दिने पत्रकारमाथि मुद्दा !

एजेन्सी, भदौ १७–उत्तर प्रदेशको मिर्जापुरमा प्रहरीले मिड डे मिल (दिउँसोको खाजा) मा बच्चाहरुलाई नुनसँग रोटी खुवाएको खबर प्रशारण गर्ने पत्रकारविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रशासनले पत्रकार पवन जयसवालले षढ्यन्त्र गरेर उत्तर प्रदेश सरकारको बदनाम गरेको आरोप लगाएको छ । मिर्जापुरका प्रहरी अधिकारी अवधेश कुमार पान्डेले भने, ‘जिल्ला अधिकारीका तर्फबाट जाँच गरिएपछि पत्रकार पवन जयसवालसहित तीन जनाकाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।’

उनले प्रहरीले थप अनुसन्धान गरिरहेको र यस सम्बनधमा एक व्यक्तिलाई हिरासतमा लिइएको जानकारी दिएका छन् । स्थानीय हिन्दी पत्रिकामा काम गर्ने पत्रकार जयसवालले भने, ‘मलाई मेरो कामलाई निशाना बनाइएको छ । एफआईआर दर्ता भएपछि मलाई डर लागिरहेको छ ।’

पवनमाथि आपराधिक षढ्यन्त्र र धोखाधडीको आरोपमा एफआईआर दर्ता गरिएको छ । उनीविरुद्ध दर्ता गरिएको एफआईआरको प्रतिलिपि उनले अहिलेसम्म प्राप्त गर्न नसकेको बताएका छन् । पवनले मिर्जापुर जिल्लाको जमालपुर विकासखण्डको प्राथमिक विद्यालयमा विद्यार्थीलाई दिउँसोको खाजामा नुनसँग रोटी खाइरहेको भिडियो बनाएका थिए । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको थियो ।

उनले भने, ‘केही दिनदेखि स्थानीय गाउँलेले स्कुलमा दिउँसोको खाजामा भइरहेको अनियमितताका विषयमा फोन गरेर जानकारी दिइरहेका थिए र मिडियामा माध्यमबाट प्रशासनसामू यो विषय लैजान आग्रह गरेका थिए ।’ पवनले भने, ‘२२ अगस्टमा पनि मलाई एक सुत्रबाट मलाई फोन आयो । स्कुल पुग्नुभन्दा पहिले नै मैले आधारभूत शिक्षा अधिकारीलाई यसबारेमा जानकारी दिएको थिए । म करिब १२ बजे स्कुल पुग्दा बच्चाहरु नुनसँग रोटी खाइरहेका थिए । मैले तत्काल भिडियो बनाए ।’

उनले यो भिडियो जिल्लामा काम गर्ने एक पत्रकारलाई पठाए र सो भिडियोमा बच्चाले नुनसँग रोटी खाइरहेको देखिएको छ । सो भिडियो ती पत्रकारले जिल्ला अधिकारीलाई देखाएका थिए । भिडियो बाहिर आएपछि उनले अनुसन्धान गराए र दुई जनालाई तत्काल निलम्बन गरिदिए । पवनका अनुसार स्थानीय प्रशासनले पाँच पटक भिडियोका जाँच गर्दा पनि सही भेटे र छैठौं पटक जिल्ला विकास अधिकारी प्रियंका निरन्जनले जाँच गरिन् ।

उनलाई जिल्ला विकास अधिकारीले लिखित उजुरी गर्न आग्रह गरेकी थिइन् । तर जवाफमा उनले भने, ‘मैले उहाँलाई म पत्रकार भएको र आफ्नो काम समाचार लेख्ने भएकाले कुनै मुद्दाको पक्ष नबनाउन आग्रह गरे ।’ जुन व्यक्तिले स्कुलमा अनियमितताको सूचना दिएका थिए । उनलाई पनि हिरासतमा लिइएको छ । उनी भन्छन्, ‘घटना बाहिर आएपछि मुख्यमन्त्रीले जाँचको आदेश दिएका थिए । त्यसपछि स्थानीय अधिकारीले आफू बच्नका लागि मलाई फँसाइरहेका छन् ।’

उनका विरुद्ध आईपीसीको धारा १२० (आपराधिक षढयन्त्र) ४२० (धोखाधडी) र १९३ (झुठो सबुत) पेश गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ । प्रहरीले चाँढै पक्राउ गर्ने भय उनमा छ । जिल्ला प्रशासनले गरेको अनुसन्धानमा पनि बच्चालाई नुनसँग रोटी खुवाएको कुरा बाहिर आएको छ । स्कुलमा खाजाको व्यवस्था गर्नु स्थानीय प्रधानको जिम्मेवारी हो ।

उनका प्रतिनिधिलाई स्कुलमा तरकारी नभएको जानकारी भएको भए भिडियो बनाउनुको साटो प्रधानलाई जानकारी गराउनुपर्दथ्यो । ‘मिड डे मिल’ केन्द्र सरकारको स्कुलमा बच्चालाई पौष्टिक भोजन उपलब्ध गराउने महत्वाकांक्षी कार्यक्रम हो । यसअनुसार भारत भर प्राथमिक विद्यालयका बच्चाहरुलाई विद्यालयमा खान खुवाइन्छ । यसको उद्देश्य ग्रामीण क्षेत्रमा बच्चालाई कुपोषणको सिकार हुनबाट जोगाउनु पनि हो । जयसवालको भिडियो भाइरल भएपनि भारतको राष्ट्रिय मानवअधिकार आयोगले उत्तर प्रदेश सरकारले सूचना जारी गरेर सचेत गराएको छ ।

Featured