विदेश सूचना/ प्रबिधि

चन्द्रयान २ : ल्याण्डर विक्रमको उल्टो परिक्रमा

काठमाडौं, एजेन्सी, भदौ १७-इसरोका वैज्ञानिकहरुको ध्यान अब चन्द्रयान २ को आर्बिटरबाट हटेर चन्द्रमामा ओर्लिने अर्को यान ल्याण्डरमा केन्द्रित भएको छ। यस क्रममा आज ३ सेप्टेम्बरका दिन इसरोले ल्याण्डर विक्रमको इञ्जिन प्रज्वलित गरी यसको आर्बिट परिवर्तन गरेका हुन्।

३ सेप्टेबरको विहान ८ बजेर ५० मिनेटमा वैज्ञानिकले ल्याण्डरको इञ्जिन प्रज्वलित गरेर यसलाई चन्द्रमाको झनै तल्लो आर्विट १०४ ह् १२८ किमिमा स्थापित गरेका छन्।

यसभन्दा पहिला हिजो २ सेप्टेम्बरमा १३ बजेर १५ मिनेट जाँदा इसरोले ‘माउयान आर्बिटर’ बाट ल्याण्डर विक्रमलाई अलग गराएका थिए। ल्याण्डर विक्रमले २ सेप्टेम्बरको १३.१५ देखि झन्डै २० घन्टासम्म माउयान आर्बिटरको पछि रहेर २ किमि प्रति सेकेण्डका गतिले चन्द्रपरिक्रमा गरिरह्यो।

३ सेप्टेम्बरमा इसरोले ल्याण्डरको आर्बिट परिवर्तन गरेर यसलाई आर्बिटरबाट टाढा पठाएको छ।

इसरोले आजको आर्बिट परिवर्तन गर्दा ल्याण्डरको दिशा परिवर्तन पनि गरेको छ। अर्थात आर्बिटरदेखि बेग्लै भएपछि ल्याण्डरले आर्बिटरकै पछि रहेर एउटै दिशामा चन्द्र परिक्रमा गरिरहेको थियो तर आजको आर्बिट परिवर्तनले यसको परिक्रमा गर्ने दिशा विपरीत बनाइएको छ। यसलाई अन्तरिक्ष विज्ञानको भाषामा ‘डिआर्बिट’ गर्नु भनिन्छ।

यसरी दिशा परिवर्तन गर्नुको कारण ल्याण्डरले चन्द्रमाको दक्षिण धु्रवमा ओर्लिने कार्यक्रमले गर्दा गरिएको हो।

इसरोका अनुसार भोलि ४ सेप्टेम्बरमा पुनः ल्याण्डरको आर्बिट परिवर्तन गरेर यसलाई ३६ह्११० किमिको आर्बिटमा स्थापित गरिने छ। ५ र ६ सेप्टेम्बरमा ल्याण्डरले यसै आर्बिटमा रहेर चन्द्रपरिक्रमा गरिरहनेछ।

यी दुबै दिन इसरोले ल्याण्डर विक्रमका सबै ‘सेन्सर’हरु जाँच गर्नुका साथै पेलोडका रुपमा यसभित्र राखिएको रोभर प्रज्ञानको जाँच–परिक्षण गर्नेछ।

ल्यान्डिग ७ सेप्टेम्बरमा

इसरोका अनुसार ३६ किमिमाथि रहेको ल्याण्डरलाई चन्द्रमामा ओराल्ने प्रक्रिया ७ सेप्टेम्बर प्रारम्भ हुनासाथ (६ सेप्टेम्बरको राति १२ बजेपछि) गरिने छ।

यसक्रममा झन्डै ३६ किमि माथिरहेको ल्याण्डरलाई चन्द्रमाको दक्षिण धु्रवमाथि रहँदा ल्याण्डिग प्रक्रिया थालिनेछ। ल्याडरको इञ्जिन प्रज्वलित गरी यसको गति २०० मिटर प्रति सेकेण्ड राखी तल ओराल्ने काम सुरु गरिने छ। यस गतिले झण्डै २९ किमि तल झरेपछि यानको गति अझै १ सय गुना कम अर्थात् जम्मा २ मिटर प्रति सेकेण्डमा ल्याइनेछ। ल्याण्डरले बाँकी रहेको ६ किमिको दूरी यसै गरी अर्थात् २ मिटर प्रति सेकेण्डको गतिले पूरा गर्नुपर्ने छ। यो भन्दा वढी गति खतरनाक हुन सक्छ।

इसरोका चेयरम्यान के. सिवनका अनुसार ल्याण्डिग गर्ने बेलाको अन्तिमका १५ मिनेट अत्यन्त चुनौतीपूर्ण हुनेछन्। यानको गतिलाई नियन्त्रित गरेर सुरक्षित ल्याण्डिग गर्नु नै अभियानको सबै भन्दा जटिल र चुनौतीपूर्ण पक्ष हो।

इसरोले बनाएको कार्यतालिका अनुसार ७ सेप्टेम्बरको विहान १ः३० देखि २ः१५ सम्म ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुव मैंजिनस–सी र सिंपेलियस–एन नामक क्रेटरका बीच रहेको मैदानमा ओर्लिने छ।

ल्याण्ड गरेको झण्डै २ घन्टापछि ल्याण्डर विक्रमको ¥याम्प खोलिन्छ र यसबाट ६ वटा चक्का रहेको रोभर प्रज्ञान बाहिर निस्कनेछ।

रोभर प्रज्ञानले ल्याण्डरबाट निस्केर चन्द्र घरातलमा टेकेको झण्डै १ घण्टापछि यसमा जडित सोलार प्यानल खोलिने छन्। रोभरले यसै सोलार प्यानलबाट उर्जा प्राप्त गर्छ।

इसरोले गरेको अनुमानअनुसार ७ सेप्टेम्बरको बिहान ५–५.१५ सम्म रोभर प्रज्ञानले चन्द्र धरातलमा हिँड्ने क्रम प्रारमभ गर्नेछ। त्यसबेला रोभर प्रज्ञानको चन्द्रमामा हिँड्ने गति १ सेन्टिमिटर प्रति सेकेण्ड हुनेछ। रोभर प्रज्ञानले झण्डै १३.५ दिनसम्म चन्द्र धरातलको यात्रा गर्नेछ। यस अवधिमा उसले झण्डै आधा किमि. हिँडेर यात्रा गर्नेछ।

रोभर प्रज्ञानले यात्रा सुरु गरेको १५ मिनेट भित्र इसरोलाई सन्देश पठाउन थाल्नेछ। तर प्रज्ञान र पृथ्वीस्थित इसरोको नियन्त्रण कक्ष बीच सीधा सम्पर्क हँुदैन। प्रज्ञानले ल्याण्डर विक्रमलाई सन्देश पठाउछ। ल्याण्डर विक्रमले चन्द्र धरातलबाट झण्डै १०० किमि माथि उडिरहेको आर्बिटरलाई सन्देस फरवर्ड गर्छ र आर्बिटरले ल्याण्डर विक्रमबाट प्राप्त भएको सन्देश पृथ्वीस्थित इसरोको नियन्त्रण कक्षलाई पठाउने काम गर्छ।

रोभर प्रज्ञानले पठाएको सन्देश पृथ्वीमा आइपुग्न झण्डै १५ मिनेट समय लाग्ने छ। रोभर प्रज्ञानले ७ सेप्टेम्बर देखि २१ सेप्टेम्बरसम्म एक चन्द्रदिन अर्थात् झण्डै १३.५ पृथ्वीदिनसम्म काम गर्ने छ।

Featured