देश

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

दाङ, भदौ १७-सोमबार राति दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किए लगत्तै ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

पूर्व–पश्चिम राजमार्गमा पर्ने लमही भालुबाङ सडकखण्डको पिपरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घोराही उपमहानगरपालिका-१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका-४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा राप्ती गाउँपालिका-८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन्।