देश

पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै

काठमाडौं, भदौ १७–नेपाल सरकारको पर्यटकीय दृष्टिले १०० गन्तव्यभित्र पर्न सफल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा विभिन्न विकास निमार्णका साथै पर्यटकीय क्षेत्र बनाउने काम गरिरहेको छ।

हयोल्मो संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती, हेलम्बुको स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा पनि हेलम्बु यतिबेला चर्चामा छ। ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’ (पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माणमा जोड दिइएको हो।

करिब ६० किलोमिटर लामो पदमार्ग निर्माणको काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताए। स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माणकार्य तीव्र पारिएको हो ।

गाउँपालिकाको विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी सो निर्माण गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष कोपिला पण्डितको भनाइ छ । उनका अनुसार पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा सो पदमार्ग निर्माण भइरहेको हो । हेलम्बु, सिमिसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटरमध्ये १५ किमीको काम सकिसकेको छ।

पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमीमा पनि १० किमी मात्रै काम बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए।

बजेट र अनुमानित लागत
उक्त कामका लागि प्रदेश नं ३ बाट रु ५० लाख अनुदान निकासा भएको थियो। त्यसैबाट प्राविधिकद्वारा हाल १० किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन तयार गरी बाँकी बजेटबाट पदमार्ग निर्माणकार्य सुरु गरिएको सव–इञ्जिनीयर शेरबहादुर राईले जानकारी दिए।

पहिलो मार्गअन्तर्गत हाल निर्माण सुरु गरिएको हेलम्बु–१ स्थित बुद्धपार्क, सेर्माथाङ, ज्यामोथाङ, आमायाङ्ग्री, भेमटाङ हुँदै ग्याङजाला भञ्ज्याङमा गएर टुङ्गिने छ। त्यसैगरी दोस्रो रुटमा वडा नं ६ को इचोकस्थित घोप्टेग्याङ, पाकेडाँडा, ढाडेपाटी, सेमी सिदाङ हुँदै ग्याङजालामै गएर टुङ्गिने छ।

Featured