देश

गाई हत्या प्रकरण : नेपालगञ्जका मेयरलाई कारवाहीको माग

काठमाडौँ, भदौ १६–नेपाल भेटेरीनरी एशोसिएशनले गाई हत्यामा संलग्न रहेको दाबी गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणालाई तत्काल कारबाही गर्न माग गरेको छ ।

एशोसिएशनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले पशु हत्या गर्नेमाथि ३ वर्षसम्म कैद सजायसमेतको व्यवस्था कानुनमै उल्लेख गरिएको भन्दै सो हत्यामा संलग्न मेयर राणालाई कडा कानुनी कारबाही गर्न माग गरेका हुन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सुर्खेतमा गरिएको सो गाई हत्यामा संलग्न अन्यको पनि पहिचान गरी कडा कारबाही गर्न सरकारलाई सचेत गराए ।

अध्यक्ष श्रेष्ठले सो घटनामा संलग्नमाथि तत्काल कार्वाही नगरे सरकारविरुद्ध नै आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए । त्यसैगरी एशोसिएशनले खोटाङको दिक्तेल बजारमा कुकुरको हत्या गरिएको भन्दै सो हत्यामा संलग्नमाथि पनि तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल विश्व पशु स्वास्थ्य संगठनको पनि सदस्य राष्ट्र भएकाले कुनै पनि पशुमाथि कुटपीट गर्नसमेत नपाउने एशोसिएशनको तर्क छ ।