खेलकुद देश

दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्नती सुरू

काठमाडौं, भदौ १६–राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्नतीको काम प्रारम्भ गरेको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार मैदानको घाँस काटेर स्तरोन्नती कार्य सुरू गरेका छन् ।

फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै सदस्य–सचिव सिलवालले ३ दिनमा घाँस काट्ने काम तथा ३ दिनमा मैदानको खाल्डाखुल्डी मिलाएर घाँस रोप्ने काम पनि सुरू गरिने जानकारी दिए । मैदानमा घाँस रोप्ने काम सम्पन्न भएको ४५ दिनभित्र मैदान तयार गरिसक्ने पनि उनले बताए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, १३ औं दक्षिण एसियाली खेलकुद (साग) सचिवालय प्रमुख कमल खनाललगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा सदस्य–सचिव सिलवालले भीआईपी प्याराफिटको निरीक्षण गर्दै तयारीका बारेमा पनि जानकारी लिएका थिए ।