देश

सेयर बजार १४ अंकले घट्यो

काठमाडौं, भदौ १६–आइतबार दोहोरो अंकले आरोलो लागेको सेयर बजार परिसूचक नेप्से सोमबार पनि उसै गरी घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १४.४५ अंकले घटेर ११७०.३४ मा झरेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.९८ अंकले घटेर २५६.३१ अंकमा झरेको छ ।

नेप्से उच्च अंकले घटे पनि कारोबार रकम भने केही बढेको छ । १७१ कम्पनीको १३ लाख ८० हजार ६६० कित्ता सेयर ४० करोड ७५ लाख ६९ हजार ७१२ रुपैयाँमा किनबेच भयो । यो आइतबारको भन्दा ११ करोड धेरै हो । आइतबार १६९ कम्पनीको ११ लाख ४ हजार ३९५ कित्ता सेयर २९ करोड ७३ लाख ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा छ । नेपाल बैंकको २ करोड ५६ लाख ६५ हजारबराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ५० लाख, युनाइटेड फाइनान्स २ करोड ४४ लाख, सबैको लघुवित्त वित्तीय संस्थाको १ करोड ९३ लाखको सेयर किनबेच भएको छ ।

आज दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले ५.४५, सबैको लघुवित्त वित्तीय संस्था ४.५४, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.६४ प्रतिशतले सम्पत्ति बढाए । नेप्से लगातार घट्दा कुल बजार पुँजीकरण १४ खर्ब ८६ अर्ब ३४ करोडमा झरेको छ ।