देश

बिदेसिने ३२ प्रतिशतले घटे, रेमिट्यान्स १६ प्रतिशतले बढ्यो

काठमाडौं, भदौ १६–आर्थिक वर्ष २०७५र७६ मा करिब ९ खर्ब विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार विप्रेषण आप्रवाह ८ खर्ब ७९ अर्ब २७ करोड पुगेको हो ।

गत वर्ष विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४र७५ मा ७ खर्ब ५५ अर्ब ६ करोड विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो आप्रवाह १०.२ प्रशितले बढेको थियो । गत आवमा श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजागारीमा जानेको संख्या ३२.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ९.३ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा वर्षमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो ०.६ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७५र७६ मा चालू खाता २ खर्ब ६५ अर्ब ३७ करोडले घाटामा छ । अघिल्लो वर्ष यस्तो घाटा २ खर्ब ४७ अर्ब ५७ करोड थियो । यस्तै आव २०७५र७६ मा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ९६ करोडले बचतमा थियो ।

आर्थिक वर्ष २०७५र७६ मा पुँजीगत ‘ट्रान्सफर’ रु. १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब सात करोड छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड थियो ।

Featured