देश

सरकारी अनुदान कुम्ल्याउनकै लागि खोलिएका ८६ साना उद्योग खारेज

धनगढी, भदौ १६–कैलालीमा घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको छ । तर, दर्ता भएका सबै उद्योग सञ्चालनमा भने छैनन् । गत आर्थिक बर्ष २०७५र७६ मा १ हजार २ सय ३४ साना उद्योग दर्ता भएकोमा ८६ वटा खारेज भएका छन् ।

आर्थिक वर्ष २०७४र७५ मा ८ सय ९३ उद्योग दर्ता भएकोमा ५८ वटा खारेज भएका थिए । स्थानीय र प्रदेशका तर्फबाट विभिन्न नाममा आउने अनुदान कुम्ल्याउनकै लागि पनि कतिपयले उद्योग दर्ता गर्ने गरेको पाइएको छ । अनुदानका लागि दर्ता भएका उद्योगहरु दोस्रो पटक नवीकरणका लागि नआउने गरेको घरेलु तथा साना उद्योग कार्यालय कैलालीले जनाएको छ ।

आर्थिक वर्षमा दर्ता भएका उद्योगमध्ये निकै न्यून कम मात्रै उत्पादनमूलक काममा क्रियाशील छन् । दर्ता भएका उद्योगमा २ सय १३ वटा उद्योगले राम्रोसँग काम गरेका छन् । सेवामूलक उद्योग ४ सय ६५ र कृषिमूलक ५ सय ५० उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय कैलालीका नायव सुब्बा हंशराज भट्टले जानकारी दिए ।

कृषि उद्योगहरु सरकारले दिने कृषि अनुदान प्राप्त गर्ने उद्देश्यले दर्ता हुने भएकाले कतिपय ठाउँमा ती उद्योग लामो समयसम्म सञ्चालन नभएको समेत पाइएको उनले बताए । कार्यालयमा थोरै मात्र ठूला लगानीका उद्योगहरु दर्ता भएका छन् । कैलालीको घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा दर्ता भएका ४० प्रतिशत उद्योग अहिले बन्द अवस्थामा रहेको नायव सुब्बा भट्टले जानकारी दिए । केही युवा उद्योग दर्ता गरेर राम्रै आम्दानी गरिरहेका छन् । केहीले विदेश जान लोन लिन र कामको सहजताका लागि उद्योग दर्ता गर्ने गरेका छन् भने केही व्यक्तिले पहुँचका आधारमा अनुदान पाउनकै लागि पनि उद्योग दर्ता गर्ने गरेको उनको भनाइ छ ।

दर्ता भएका अधिकांश उद्योग दोस्रो पटक नवीकरण हुँदैनन् । घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख नवराज भट्टले दर्ता भएका उद्योगहरुको अनुगमन गर्न जनशक्ति अभाव रहेकोले सबै उद्योगको अवस्था बुझ्न नसकिएको बताए ।

Featured