देश

जागिरको लोभ देखाएर आधा दर्जन बढी युवतीको बलात्कार

जनकपुर, भदौ १६–जागिर लगाइदिने भन्दै युवतीहरुलाई यौन शोषण गर्नुको साथै उनीहरुबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सप्तरीमा एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका(२ सितापुर बस्ने २९ वर्षीय सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

एक वर्षअघि मात्र मोरङ्ग जिल्ला अदालतबाट एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर भई सजायसमेत तोकिएका उनी फरार थिए । यादवलाई गोप्य सूचनाका आधारमा अघिल्लो दिन राति मोरङ्गको बुढी गंगा नगरपालिका(३ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरमा आज पत्रकार सम्मेलनमार्फत यादवलाई सार्वजनिक गरेको हो । अपराध लुकाउन समाजिक सञ्जाल इमोमा आफूलाई सञ्जिव खड्का भनी चिनाउने यादव आधा दर्जन बलात्कार तथा लाखौं रुपैयाँ लुटपाट र ठगी गरेको घटनामा संलग्न रहेको पाइएको पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

इमोमार्फत युवतीहरुको फोन नम्बर पत्ता लगाइ उक्त नम्बरमा फोन गरी ‘म रोजगारीडटकमको म्यानेजर हुँ, विभिन्न बैंक र संस्थामा जागिर लगाइदिन्छु’ भन्दै प्रलोभन देखाइ घरमै बोलाई बलात्कार गर्ने गरेका थिए । त्यति मात्रै हैन, कतिलाई लुटेको पनि अनुसन्धानको क्रममा खुलेकोे प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।

उनले तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाइदिन्छु भन्दै घरमै बोेलाई नियुक्ति पत्रसमेत दिएर जबर्जस्ती करणी गरेका थिए । विषयमा पीडितहरु प्रमाणसहित सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवले जागिरको लोभलालच देखाइ आधा दर्जनभन्दा बढी युवतीलाई यौन दुर्व्यवहार र सुनँचाँदीका गरगहना तथा १० लाखभन्दा बढी रकम लुटपाट र ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

‘करिब ३ वर्षदेखि समाजिक सञ्जालमा रोजगारीडटकम माध्यमबाट टाढा(टाढाका महिलालाई जागिरको प्रलोभन देखाइ लुटपाट तथा जबर्जस्ती करणी गर्ने यादवबाट पीडित बनेका युवतीहरू उजुरी लिएर आइरहेका छन्,’ प्रहरी नायव उपरीक्षक मिश्रले भने ‘त्यसैले यादवको अपराधको फेहरिस्त अझै लामो हुने निश्चित देखिएको छ ।’

पक्राउ परेका यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएको नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, बिमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीको गरगहना तथा नगद ३३ हजार रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।

अदालतबाट म्याद थप गराइ उनीमाथि जबर्जस्ती करणी उद्योग, लुटपाट तथा ठगीलगायतका मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Featured