देश

पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव

जुम्ला, भदौ १६–कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतबार पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठीचौर जुम्लामा पुगेर त्यसको अवस्था अध्ययन गरिन् । प्रतिष्ठानको संगठन तथा भौतिक संरचना, यसले स्थापनाकालदेखि हालसम्मका गरेका गतिविधि तथा कार्यप्रगतिबारे उनले कर्मचारीसँग जानकारी लिएकी थिइन् । प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले पूर्व इलामदेखि पश्चिम दार्चुलासम्म पर्वतीय क्षेत्रमा रहेका जिल्लाको नेतृत्व गरेको प्रतिष्ठानमा जनशक्ति अभाव रहेको बताए ।

‘चार वरिष्ठ वैज्ञानिक दरबन्दी रहेको प्रतिष्ठानमा म पनि काजमा आएको छु,’ वैज्ञानिक चालिसेले भने, ‘१८ कर्मचारीमा मात्र नौ कार्यरत छन् ।’ जनशक्ति अभावले प्रतिष्ठानको अवस्था बिजोग रहेको उनको भनाइ थियो । उनका अनुसार प्रतिष्ठानमा न कर्मचारी आउने न त सरकारले यसको कुनै चासो लिएको छ ।

मन्त्री केसीले प्रतिष्ठानबारे जानकारी लिँदै देखिएका समस्या समाधानका लागि संघीय तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश सरकारका तर्फबाट पनि आवश्यक पहल गर्ने जनाइन् । नेपालको एक मात्र अनुसन्धान संस्थाका रूपमा गोठीचौरमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठान कर्णालीको ठूलो सम्पत्ति भएको र यसको संस्थागत विकासले मात्र यहाँका जनताको समृद्धिमा सहयोग पुग्ने मन्त्री केसीको भनाइ थियो ।

त्यस्तै जुम्ला सदरमुकामदेखि डोल्पा जोड्ने सडक अनुगमन गरेकी मन्त्री केसीले जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित त्यहाँ सम्पूर्ण कर्मचारीसँग भेटघाट गरी जनताको सेवा प्रवाहमा खटिन निर्देशन दिइन् ।

मन्त्री केसीसहित अनुगमन तथा अध्ययनमा पूर्वराज्यमन्त्री गोमा कुँवर, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा, गोठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्मासहितको सहभागिता रहेको थियो । (रासस)