देश

बजेट खर्च १० खर्ब ३१ अर्ब, व्यापार घाटा १३ खर्ब २१ अर्ब

काठमाडौं, भदौ १६–देशको व्यापार घाटाले सरकारी बजेट खर्चलाई उछिनेको छ। गत आर्थिक वर्ष सरकारको कूल बजेट खर्चभन्दा करिब ३ खर्ब रुपैयाँ व्यापार घाटा धेरै छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अवस्थाले यस्तो देखाएको हो । गत वर्ष बैंकिङ्ग कारोबारमा आधारित सरकारको कुल खर्च १० खर्ब ३१ अर्ब १५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १० खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ थियो।

बैंकिङ कारोबारको आधारमा अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब ३५ अर्ब रुपैयाँले सरकारी खर्च घटेको छ। यस्तै सरकारले गत वर्ष प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत गरी ८ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व संकलन ७ खर्ब २६ अर्ब ७२ करोड रुपैयाँ थियो।

देशको वैदेशिक व्यापारको अवस्था भने भिन्न छ। गत वर्ष वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई ९७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो निर्यात ११.४ प्रतिशतले वृद्धि भएको थियो।

यस्तै गत वर्ष कुल वस्तु् आयात १३.९ प्रतिशतले बढेर १४१८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आयात २५.८ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२.८ प्रतिशत, चीनबाट भएको आयात २८.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ८.९ प्रतिशतले बढेको छ।

आयात बृद्धिका कारण गत वर्ष कुल वस्तु व्यापार घाटा १३.५ प्रतिशतले विस्तार भई १३ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत छ । निर्यात– आयात अनुपात ६.८ प्रतिशत छ । अघिल्लो वर्ष सो अनुपात ६.५ प्रतिशत थियो।